पोखरामा घट्न थाले डेंगु संक्रमित

Share:

पोखरा । पोखरामा साउनबाट देखिन सुरु भएको डेंगुका बिरामी घट्न थालेका छन् । भदौ अन्त्यसम्म दैनिक एक सय बढी बिरामी अस्पताल पुग्ने गरेकोमा अहिले यो संख्या कम हुन थालेको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका कीटजन्य रोग निरीक्षक याम बरालका अनुसार भदौ अन्तिमसम्म दैनिक एक सय बढी बिरामी अस्पताल पुग्ने गरेकोमा अहिले ६० देखि ७० जना बिरामी अस्पताल पुग्ने गरेका छन् । यो संख्या अब विस्तारै घट्दै जाने उनले बताए ।

‘अहिले डेंगुबाट संक्रमित हुनेको संख्या घट्न थालेको छ, भदौ अन्तिम सातासम्म दैनिक एक सय बढी बिरामी अस्पताल पुग्ने गरेको तथ्यांक थियो,’ उनले भने, ‘पछिल्लो एक हप्ता ६० देखि ७० जना बिरामी अस्पताल पुग्ने गरेको तथ्यांक हामीसँग छ ।’

उनका अनुसार अहिले पोखराका विभिन्न अस्पतालमा डेंगुका करिब २२ सयको संख्यामा बिरामी छन् । अब यो संख्या नबढ्ने अनुमान गरिएको छ । गएको वर्ष कार्तिक महिनामा देखिएको डेंगु अहिले साउनमा नै देखिएको थियो ।

यस वर्ष साउन १५ गते पोखरा–८, शिवालय चोकका एक पुरुषमा पहिलोपटक डेंगु भेटिएकोे थियो । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग उपयुक्त तापक्रममा छिटो फैलिने जानकारवाला बताउँछन् ।

२४ देखि ३४ डिग्रीसम्मको तापक्रममा यो लामखुट्टे बढी सक्रिय हुन्छ । भदौको अन्तिमसम्म पोखराको तापक्रम यही बीचमा थियो । पछिल्लो एकसाता यता पानी पर्न थालेसँगै अब बिरामीको संख्या पनि विस्तारै घट्दै जाने अनुमान गरिएको छ ।

तापक्रम यही अवस्थामा रहे आउँदो दुई महिना भित्रमा डेंगु पूर्ण नियन्त्रणमा आउने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयका सूचना अधिकारी डा. भोजराज गौतमले बताए ।

तापक्रमबाहेक विभिन्न जनचेतनामूलक कार्यक्रमले पनि डेंगु नियन्त्रण गर्न सहयोगी भूमिका खेलेको डा. गौतमको भनाइ छ । बिरामी घटे पनि डेंगु बारे अझै सचेत रहन उनले आग्रह गरेका छन् । गण्डकी प्रदेशको मुस्ताङबाहेक अरु १० वटै जिल्लामा डेंगु देखिएको छ ।

लक्षण र बच्ने उपाय

एडिस जातको लामखुट्टेले टोकेपछि भाइरस शरीरमा पसेको १ देखि ५ दिन सम्म निकै सक्रिय बन्छ । त्यसपछि यसका लक्षण देखा पर्ने गर्दछ ।

समयमै अस्पताल पुगे ६ दिनपछि शरीरको एन्टीबडीले त्यो भाइरस बिरुद्ध लड्न थाल्ने र १५ दिनपछि मानिस सामान्य अवस्थामा फर्कन सक्ने डा. गौतम बताउँछन् ।

लामखुट्टेको टोकाइबाट बच्न सके यो रोगबाट पनि बच्न सकिन्छ । डेंगुका विषयमा सुरुमा आफैं सचेत हुनुपर्ने डा. गौतम बताउँछन् । पानी जम्माका गरिएका भाँडा घोप्टयाएर राख्न, घरवरपर पानी जम्न नदिन, लामखुट्टेको टोकाइबाट बच्न उनको सुझाव छ ।

डेंगु लागेपछि उच्च ज्वरो आउने, जोर्नी तथा हाडहरु दुख्ने, वान्ता हुने, खाना खान मन नलाग्ने र शरीरका विभन्न अंगबाट रगत बग्नेलगायतका लक्षण देखिने गर्दछ । यो लामखुट्टेले दिउँसोको समयमा मात्र टोक्ने भएकाले आफूले लगाउने कपडामा पनि विशेष ध्यान दिन उनले आग्रह गरेका छन् ।

‘यो लामखुट्टेले दिउँसो समयमा टोक्छ,’ गौतमले भने, ‘त्यसैले घर वरपरको वातावरणसँगै आफूले लगाउने कपडामा पनि विशेष ध्यान दिनुपर्छ ।’

सम्बन्धित सामग्री ::

– पोखरामा डेंगु संक्रमितको संख्या ६८ पुग्यो

–डेंगु संक्रमितको संख्या एक सय नाघ्यो, ‘सर्च एण्ड डेष्ट्रोए’ अभियान जारी

–डेंगु फैलाउन सहयोगी भूमिका खेल्दै वातावरण

–फैलिँदै डेंगु, फैलिँदै त्रास

कमेन्ट गर्नुहोस्
Share: