फैलिँदै डेंगु, फैलिँदै त्रास

Share:

पोखरा । अहिले देशका विभिन्न ठाउँमा डेंगु रोगको संक्रमण फैलिएको छ । झण्डै चार महिना अगाडिबाट देखिन सुरु भएको डेंगु संक्रमण अहिले देशका ६२ जिल्लामा देखिएको छ । यसबाट देशभर ६ जनाको मृत्यु भइसकेको छ भने ६ हजार बढी मानिस संक्रमित छन् ।

संक्रमितको संख्या दैनिक बढेसँगै मानिसमा यसको त्रास फैलिरहेको छ । अस्पतालमा परीक्षण गराउन पुग्नेको भीड देखिन्छ भने सामान्य ज्वरो आउँदा पनि डेंगु नै भयो भन्ने स्थिति सिर्जना भएको छ ।

कास्कीमा पनि डेंगुबाट संक्रमित संक्रमित हुनेको संख्या झण्डै १३ सय पुगेको छ । ५ हप्ता अगाडि देखिन थालेको यो रोगबाट अहिले कस्केली जनतामा पनि त्रास फैलिएको छ ।

यो पनि – पोखरामा डेंगु फैलाउन सहयोगी भूमिका खेल्दै वातावरण

डेंगु फैलिए पनि यसबाट नआत्तिन चिकित्सककोे सुझाव छ । एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट नेपाल मात्र होइन अहिले विश्वका १२८ मुलुकका नागरिक संक्रमित छन् । औषधि नभएको यो रागबाट विश्वभर वर्षेनी २० हजार जनाले ज्यान गुमाउने गरेको तथ्यांक छ ।

पोखरामा गत वर्ष असोजमा देखिएको डेंगु यो वर्ष साउनमा नै देखियो । सम्बन्धित अधिकारीहरु पनि वर्षेनी देखिने डेंगु यो वर्ष देखिन्छ भन्ने आँकलन गरिरहेका थिए । तर मध्ये मनसुनमा देखिँदै आएकोमा मनसुन सुरुवातमै देखिएला भन्नेमा थिएनन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका कीटजन्य रोग निरीक्षक याम बराल तयारी अवस्थामा नभएकाले निरन्तर फैलिरहेको डेंगु नियन्त्रणमा समस्या भएको सुनाउँछन् ।

यो पनि – पोखरामा डेंगु संक्रमितको संख्या ६८ पुग्यो, ‘सर्च एण्ड डेष्ट्रोए’ अभियान जारी

कास्कीमा ११ देखि ५५ वर्ष उमेर समूहका व्यक्तिमा बढी मात्रामा डेंगु देखा परेको छ । विभिन्न संघसंस्थाको पहलमा अहिले देशभर जनचेतनामूलक कार्यक्रम भइरहेका छन् ।

संक्रमण देखिएका ठाउँमा अहिले खोज्ने र नष्ट गर्ने (सर्च एण्ड डेष्ट्रोए) अभियान जारी छ । यो रोगलाई नियन्त्रणमा लिन समुदायका मानिसनै सचेत हुनुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख राजेन्द्र घिमिरेले बताए ।

यो लामखुट्टेले दिउँसोको समयमा टोक्ने भएकाले आफूले लगाउने कपडामा पनि विशेष ध्यान दिनुपर्छ । यसले घुँडाभन्दा तल तिर मात्र टोक्छ भन्नेमा धेरै मानिसमा भ्रम छ । तर यसले शरिरको जु्नसुकै भागमा टोक्ने अधिकारी बताउँछन् ।

यो पनि – पोखरामा डेंगु संक्रमितको संख्या एक सय नाघ्यो

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयका सूचना अधिकारी डा. भोजराज गौतमका अनुसार डेंगु लागेपछि उच्च ज्वरो आउने, जोर्नी तथा हाडहरु दुख्ने, वान्ता हुने, खाना खान मन नलाग्ने र शरीरका विभन्न अंगबाट रगत बग्नेलगायतका लक्षण देखिने गर्दछ ।

पानी जम्माका गरिएका भाँडा घोप्टयाएर राख्न, घरवरपर पानी जम्न नदिन, लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकको सुझाव रहेको छ ।

अडियो रिपोर्ट::

कमेन्ट गर्नुहोस्
Share: