त्रिकोणात्मक सिरिजः नेपाल पहिलो खेलमा जिम्बावेसँग पराजित, दोस्रो खेलमा आज सिंगापुरसँग भिड्दै

Share:

काठमाडाैं । सन्दीप लामिछानेले पावरप्लेमा महत्वपूर्ण ३ विकेट लिए पनि त्रिकोणीय सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ। नेपाललाई शुक्रबार भएको सिरिजको पहिलो खेलमा जिम्बावेले ५ विकेटले पराजित र्गयो। नेपालले दिएको १३३ रनको लक्ष्य जिम्बावेले १८.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा र्गयो।

जिम्बावेका लागि रायन ब्रुलले नटआउट ४१ रन र रिचमड मुटुम्बानीले नटआउट ४० रनको योगदान दिए । उनीहरुबीच छैटौं विकेटका लागि ६९ रनको साझेदारी भएको थियो। त्यसअघि जिम्बावेले ४.१ ओभरमा ३७ रन बनाउदा ४ विकेट गुमाएको थियो। जिम्बावेका कप्तान सिन विलियन्स, मोटोम्बोजी र चकाम्बालाई सन्दीपले शून्यमा पेभिलियनको बाटो देखाएका थिए।

ओपनर ब्राइन चरीलाई दीपेन्द्रसिंह ऐरीले १९ रनमा रनआउट गरेका थिए भने मारुमालाई कप्तान पारस खड्काले १२ रनमा बोल्ड गरे।त्यसअघि सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १३२ रन जोड्यो।नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४० रनको योगदान दिए। उनले ३३ बलमा ५ चौका हिर्काए। कप्तान पारस खड्काले २२ बलमा ३ चौकाको मद्दतमा १८ रन जोडे। पारससँगै ओपनिङ गरेका इशान पाण्डेले डेब्यू खेलमा ४ रन मात्र जोड्न सके।

आरिफ शेखले ८ रन जोड्दा अर्का डेब्यू खेलाडी कुशल मल्ल २ रनमै आउट भए। सन्दीप जोराले १५ बलमा १७ रन बनाए।सोमपाल कामीले नटआउट २५ रन र विनोद भण्डारीले नटआउट ११ रन जोडे। अन्तिम ओभरमा लगातार २ छक्का हिर्काएका सोमपालले १४ बलमा ३ छक्का हिर्काए। विनोदले १२ बलमा १ चौका प्रहार गरे।बलिङमा जिम्बावेका सिन विलियम्सले २ विकेट लिए।

सिरिजको दोस्रो खेलमा नेपाल आज (शनिबार) आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । इन्डियन एसोसियसनको मैदानमा नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ ।

घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । सिरिजको फाइनलमा पुग्न नेपाललाई जित आवश्यक छ ।

डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको अंक तालिकामा नेपाल अंक विहिन रहेको छ । जिम्बावे २ अंक जोडेर शीर्ष स्थानमा छ ।
सिरिज अन्तर्गत नेपालले मंगलबार पुनः जिम्वाबेसँग खेल्नेछ । यस्तै बुधबार नेपालले पुनः सिंगापुरसँग खेल्नेछ । सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: