
बैतडी । बैतडीको पाटन–मेलौली सडकखण्डको पाटन–६ लोर्खामा आज (शनिबार) बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको छ । महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नम्बरको बस शनिबार बिहान ३ बजे दुर्घटना भएको हो।
गम्भीर घाइते हुनेहरुमा भिमदत्त नगरपालिकाका ३३ वर्षीया सीदेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड, ५५ वर्षीय भारतीय नागरिक जगतसिंह चौहान र गाडीका सहचालक डडेल्धुराका २७ वर्षीय केशव साउद रहेका छन् ।
गम्भीर घाइते सातैजनालाई उपचारका लागि जिल्लाबाहिर ‘रेफर’को तयारी गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । अरु घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ । बसका चालक फरार छन् ।
सडकमा रहेका खाल्डाखुल्डीका कारण बसलाई छेउबाट चलाउन खोज्दा दुर्घटनामा परेको प्रहरीको अनुमान छ । बसमा ३० जना यात्री सवार थिए । बस सडकबाट करिब १० मिटर तल खसेको छ ।
