
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले जित निकालेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमित बार्सिलोनाले गेटाफेलाई २-० ले हराएको हो ।
नियमित कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको बार्सिलोनाका लागि लुइस स्वारेज र जुनियर फिर्पोले एक एक गोल गरे । चोटका कारण मेस्सी गेटाफेविरुद्ध मैदान उत्रेनन ।
तर, खेलको ४१ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ४९ औं मिनेटमा फिर्पोले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए ।
यता फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले बोर्डूअक्सलाई १-० गोल अन्तरले पराजित गर्यो ।
पीएसजीको जितमा नेयमार नायक बने । पीएसजीको जितमा नेयमारले निर्णायक गोल गरे । बोर्डूअक्सको मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा नेयमारले निर्णायक गोल गरेका थिए ।
यस्तै स्पेनिस लिगमा मड्रिड डर्बी गोल रहित बराबरमा सकिएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिड र एट्लेटिको मड्रिडले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
रियल अंक जोड्दै तालिकाको शीर्ष स्थानमा फर्किएको छ । एट्लेटिकोको मैदानमा रियल राम्रो लयमा देखिएपनि गोल गर्न भने सकेन । रियल घरेलु लिगमा भने अपराजित रहन सफल भएको छ ।
