
गोरखा। गोरखामा मार्बलले च्यापिएर एक मजदूरको मृत्यु भएको छ । गोरखा नगरपालिका–६ स्थित हरमटारीमा निर्माणाधीन भवनको मार्बल झार्ने क्रममा च्यापिएर सिरहा मोतीपुर घर भएका ३० वर्षीय नागेन्द्र शाहानीको मृत्यु भएको हो।
जिल्ला अदालत गोरखाको भवनका लागि ल्याइएको मार्बल झार्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए।
गाडीबाट भवनमा बिछ्याउने मार्बल झार्ने क्रममा च्यापिएर गम्भीर घाइते शाहानीको उपचारका लागि गोरखा अस्पताल पुर्याएलगत्तै अस्पतालले मृत घोषणा गरेको हो।
मृतको शव परीक्षण गरी आजै आफन्तलाई बुझाउने प्रहरीले जनाएको छ । २०७२ को बारपाक भूकम्पमा पुरानो भवनमा क्षति पुगेपछि गोरखा नगरपालिका–६ स्थित अदालतको सुविधा सम्पन्न भवन निर्माणाधीन छ ।
