पोखराका कपडा व्यवसायी भन्छन् – ‘दशैंमा पहिलेको जस्तो छैन्, फुटपाथ व्यापारी चुनौती बने’

2392
0
Share:

पोखरा । बडा दशैंसँगै पोखराको मुख्य बजारमा अहिले चहलपहल बढेको छ । अरु समयमा यसै पनि व्यस्त हुने पोखराका मुख्य बजार क्षेत्रमा अहिले भीड कमिलाको ताँती जस्तै छ ।

पोखराको महेन्द्रपुल, चिप्लेढुङ्गाका सडकमा मानिसको भीड छ । हिँड्न पनि मुस्किल हुन्छ । घटस्थापना पछि देखिन थालेको दृश्यले ओहो साँच्चै दशैं आएछ भन्ने अनुभूति हुन्छ । दिउँसोको समयमा यी व्यस्त बजारको कुनै एउटा भवनबाट नियाल्ने हो भने कमिलाको ताँती जस्तै देखिन्छ ।

केही कपडा व्यापारी पनि ग्राहक फकाउन व्यस्त भएको पाइन्छ । दशैं अझै यस्तो चाड हो जहाँ नयाँ कपडा लगाउनुपर्छ भन्ने चलन नै छ । पसले पनि दशैंका बेला मागअनुसारका नयाँनयाँ कपडा बिक्रीका लागि राखिरहेका छन् । तर अहिले कपडा व्यापारी गएका वर्षहरु जस्तो व्यापार हुन नसकेको बताउँछन् ।

१७ वर्षदेखि कपडा व्यवसाय गर्दै आएकी शोभा पोख्रेल हामी पुग्दा ग्राहक कुरिरहेकी थिइन् । उनले यसवर्ष गएको वर्षहरुमा जस्तो व्यापार नभएको सुनाइन् ।  ‘अघिल्लो वर्षहरुमा धेरै भीडभाड हुन्थ्यो, अहिले त्यस्तो छैन्,’ शोभाले भनिन्, ‘यसपटकको दशैं व्यापार खासै सन्तोषजनक छैन् ।’ आजभन्दा ३÷४ वर्ष पहिलासम्म भीड नियन्त्रण गर्न उनलाई हम्मेहम्मे पर्ने गथ्र्यो । तर अहिले उनकोमा त्यसरी ग्राहक आउनै छाडे ।

‘आजभन्दा ३/४ वर्ष पहिलासम्म भीड नियन्त्रण गर्न नसक्ने गरी ग्राहक आउने गर्नुहुन्थ्यो, ’विगतको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘अहिले पहिलेको जस्तो छैन्, ग्राहक कुरेर बस्नुपर्छ ।’ कुनाकाप्चामा पनि कपडाका पसल खुलेकाले पनि व्यापारमा प्रभाव परेको उनी बताउँछिन् ।

विगत १२ वर्षदेखि फेन्सी पसल सञ्चालन गर्दै आएका सन्तोष दास पनि दशैंमा पहिलेको जस्तो व्यापार नभएको बताउँछन् । उनका अनुसार गएको दशैंको तुलनामा यसपटक व्यापार आधा जस्तै छ । फुटपाथ वालाका कारण व्यापार सुकेको उनी बताउँछन्।

‘व्यापार पोहोरको तुलनामा आधा छ,’ उनी भन्छन्, ‘पहिले मान्छेले चाड आएपछि किन्थे तर अहिले आवश्यकता पर्ने वित्तिकै किन्छन्, आवश्यकता पर्ने वित्तिक किन्ने भएकोले कपडा खाद्यान जस्तै भैसकेको छ ।’ अहिले लाखौं भाडा तिरेर व्यापार गरिरहेका आफू जस्ता व्यवसायीका लागि फुटपाथ व्यापारी चुनौती बन्न थालेको दासको भनाइ छ ।

पोखरा ट्रेड मलभित्रका व्यवसायी महेश आचार्य पनि व्यापार पहिलेको जस्तो नभएको बताउँछन् । ‘पहिलेको तुलनामा अहिले कमै छ, व्यापारी बढेर पनि होला,’ उनले भने, ‘जे होस् समग्रमा सन्तोषजनक नै छ भन्नुपर्छ ।’

पोखराको फुटपाथ व्यवसायले गर्दा आफनो व्यापारमा प्रभाव परेको धेरैको गुनासो छ । तर सम्बन्धित निकाय जानकार हँदा पनि मुक दर्शक बन्दा लाखैं भाडा तिरेर व्यवसाय गरिरहेकाहरु भने मारमा परेका छन् ।

अडियो रिपोर्ट::

तस्बिर- जक्सन डटकम

कमेन्ट गर्नुहोस्
Share: