जिल्ला अस्पताल पर्वतमा भाइरलका बिरामी बढे

Share:

पर्वत । गर्मी मौसम सकिएर विस्तारै जाडो मौसम शुरु हुनै लाग्दा पर्वतमा मौसम परिवर्तनका कारण हुने सिजनल भाइरल फ्लूबाट संक्रमित हुनेहरूको संख्या ह्वात्तै बढेको छ।

जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार सामान्य अवस्थामा अस्पतालको ओपीडी कक्षमा दैनिक २० सम्म बिरामी आउने गरेको भए पनि पछिल्ला केही दिनयता एक सयभन्दा बढी बिरामी स्वास्थ्य परीक्षणको लागि आइरहेका छन्।

घाम लागेको बेलामा वर्षा वा वर्षा भइरहेको बेलामा लाग्ने घामका कारण सिजन परिवर्तन हुने बेलामा सिजनल फ्लूको संक्रमण बढ्ने गरेको उनको भनाइ छ।

भाइरलको संक्रमण हुन लागेका वा भइसकेकाहरूमा उच्च ज्वरो आउने तथा धेरै दिनसम्म पनि ज्वरो कम हुन नसक्ने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्नेजस्ता लक्षण देखापर्ने डा. देवकोटाले बताए।

अघिपछि पनि भाइरलको संक्रमण हुने गरेको भए पनि मौसम परिवर्तन हुने बेलामा भने संक्रमण उच्च हुने उनको भनाइ छ। सिजनल भाइरल फ्लूबाट संक्रमण भएको महसुस भएमा आराम गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउनुपर्ने चिकित्सिकको सुझाब छ।

जिल्ला अस्पताल पर्वतमा अघिल्ला वर्षहरूमा भाइरल फ्लूबाट प्रभावित भएकाहरूको भीड लाग्ने गरेको थियो। तर, यस वर्ष देखिएको बिरामीको चाप अघिल्ला वर्षहरूको तुलनामा भने झनै बढी रहेको छ।

यस वर्ष लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको शंका लागेकाहरूले पनि तुरुन्तै स्वास्थ्य परीक्षण गर्न आएका कारण बिरामीको चाप अघिल्लो वर्षको तुलनामा झनै बढेको हो।

अस्पताल स्रोतका अनुसार भाइरलबाट प्रभावित भएको शुरुकै अवस्थामा आएका बिरामीलाई औषधि सेवनको सिफारिश गरेर घर फर्काइएको भए पनि कतिपय बिरामीलाई भर्ना गरेर इन्जेक्सनको माध्यमबाट औषधि आपूर्ति गर्नुपरेको छ।

गाउँपालिका र नगरपालिकामा रहेका स्वास्थ्यचौकीमा पनि भाइरलका बिरामीको चाप उच्च रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: