महरामा उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या, दशैं बिदा सकिएपछि अदालतमा बहस

Share:

काठमाडाैँ । बलात्कार आरोपपछि पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महराका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । महराबारेको अनुसन्धान अब हिरासतमै राखेर हुने छ भने अदालतमा बहस दशैं बिदा सकिएपछि मात्रै हुनेछ ।

प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि महरालाई हिजो साँझ बालुवाटारको सभामुख निवासबाटै नियन्त्रणमा लिएको हो । पक्राउ परेका महरालाई अनामनगर वैद्यखानास्थित महानगरिय प्रहरी वृत सिंहदरबारमा राखिएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले महराको बयान अदालत र सरकारी वकिलको कार्यालय खुलेपछि मात्रै सुरु हुने जानकारी दिए ।

२६ गतेसम्म विदा र २७ गते पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा अदालत बन्द भएकाले २८ गते मात्रै अदालति प्रक्रिया सुरु हुनेछ ।

महराबाट आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै शुक्रबार प्रतिनिधिसभामा काम गर्ने रोशनी शाहीले प्रहरीमा उजुरी दिएसँगै महरालाई नियन्त्रणमा लिईएको हो । पक्राउ परेका महरामाथि मुलुकी फौजदारी अपराध संहिता अनुसार अनुसन्धान सुरु हुनेछ ।

अपराध संहिता २०७५ अनुसार बलात्कार गरेको प्रमाणित भए महरामाथि ७ देखि १० वर्ष कैद सजाय हुनेछ भने बलात्कारको प्रयास गरेको प्रमाणित भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

नेपालमा उच्च ओहोदाको व्यक्ति प्रक्राउ परेको यो पहिलो पटक हो । पक्राउ परेका महरा दोषी ठहर नभएसम्म उनको सांसद पद कायमै रहने भएपनि सांसदले पाउने सेवा सुविधा भने नपाउने संसद सचिवालयले जनाएको छ ।

स्वास्थ्य समस्या

पक्राउ परेका महरामा स्वास्थ्य समस्या देखिएको छ । सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तको हिरासत कक्षमा रहेका महरालाई उच्च रक्तचापसँगै श्वासप्रश्वासको समस्या देखिएको हो । महरालाई हिरासत कक्षमै अक्सिजन दिइएको छ ।

प्रहरीले उनको नियमित तथा फोरेन्सिक दुवै तरिकाबाट स्वास्थ्य जाँच गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धनबाट यही असोज १२ गते राति तत्कालीन सभामुख महरा तीनकुनेस्थित रोशनीको कोठामा गएको पुष्टि भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: