
काठमाडौं । ओमानमा जारी पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा नेदरल्याण्डलाई ४ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
अल अम्रेट क्रिकेट मैदानमा नेदरल्याण्डले दिएको १ सय ३४ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गरेको हो।
नेपालको जितमा करण केसी नायक बने । विस्फोटक ब्याटिङ गरेका करणले १४ बलमा १ चौका र ३ छक्कासहित अविजित ३१ रन बनाएका थिए ।
यो जितसँगै नेपालले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो । नेदरल्याण्डको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेदरल्याण्ड आयरल्याण्डसँग पराजित भएको थियो ।
अब नेपालले बुधबार आयरल्याण्डसँग र अन्तिम खेलमा ओमानसँग बिहिबार गते खेल्नेछ । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।
