चिनियाँ राष्ट्रपति सीको स्वागतमा आइतबार सार्वजनिक बिदा

Share:

काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिन पिङको स्वागतका लागि सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयको प्रस्तावमा सरकारले आइतबार सार्वजनिक बिदा दिन लागेको हो ।

शनिबारदेखि हुने भ्रमणको सरकारले उच्च सुरक्षा व्यवस्था मिलाएको छ। अति विशिष्ट व्यक्तिको सुरक्षा कार्य्विधि २०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो।

आवश्यक तयारीको सिलसिलामा दैनिक सुरक्षा समन्वयात्मक छलफल चलिरहेको र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति कार्यालयसम्म र बस्ने होटलसम्मको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि सरकारले सार्वजनिक बिदा दिएको थियो ।

दुई दिन अन्तर्राष्ट्रिय उडान प्रभावित हुने

चिनियाँ राष्ट्रपति सी जिन पिङको भीभीआईपी उडानका कारण शनिबार र आइतबार दर्जनौं अन्तर्राष्ट्रिय उडान घण्टौं डिले हुने भएका छन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल स्रोतका अनुसार, राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुस्थित चेन्नई अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट सोझै काठमाडौं आइपुग्ने छन् ।

उनी सवार भीभीआईपी जेट विमान आउने बेला दुई घण्टा कुनै पनि आन्तरिक र अन्तर्रा्ष्ट्रिय व्यावसायिक उडान हुने छैनन् ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले शनिबार र आइतबार हुने उडानबारे शुक्रबार बिहान नोटाम (नोटिस टू एयरमेन) जारी हुने बताए ।

कमेन्ट गर्नुहोस्
Share: