
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउपालिका–६ नाकाजुलीमा सामान्य घरायसी विवादमाएक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्। स्थानिय ५० वर्षीय टेकबहादुर मस्राङगीले ४५ वर्षीया श्रीमती किरण र १७ वर्षीया छोरी प्रेमसुको भरुवा बन्दुकले हानी हत्या गरेका हुन्।
मादक पदार्थ सेवन गरेका टेकबहादुर श्रीमती किरणसँग विवाद गरी सुतेको थिए। तर, सुतेको केही समयपछि पुनः राति ११ बजे घरमा रहेको भरुवा बन्दुक प्रहार गरेर श्रीमती र छोरीको हत्या गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। टेकबहादुरले श्रीमती, छोरी र छोरा सुतिरहेको कोठामा गई बन्दुकले हानेको प्रहरीले बताएको छ। बन्दुकको गोलीले श्रीमतीको घाँटी र छोरीको कन्चटमा लागी घटनास्थलमा नै दुवैको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाअनुसार टेकबहादुरले धारिलो हतियार प्रहार गरी छोरा १९ वर्षीय कृष्णलाई पनि घाइते बनाएका छन्। कृष्णको गर्धन र बाया हातमा चोट लागेको छ। उनलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ। टकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।
