
समिर जोशी, तनहुँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले शुक्रबार बढी भाडा लिने दुई वटा बसलाई जरिवाना गरी बढी लिईएको रकम यात्रुलाई फिर्ता गराएको छ ।दशैंको समयमा यात्रुको चाप भएको मौकामा बढी भाडा लिएको गुनासो आएको र त्यसपछि गरिएको छड्के जाँचबाट बढी भाडा लिएको पाईएकोले फिर्ता गराईएको ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिए।
तनहुँको भिमाद बजारबाट चितवनको नारायणगढ जाँदै गरेको ग १ ख ३९६० नम्बरको मिनि बसले प्रतियात्रु ५० रुपैयाँ बढी भाडा लिएकोले एक दिन गाडी चलाउन रोक लागउनुका साथै एक हजार रुपैयाँ जरिवाना काटी बढी लिईएको रकम फिर्ता गराईको ट्राफिक प्रमुख अधिकारीले जानकारी दिए । ३०० रुपैयाँ लिनुपर्नेमा ३५० रुपैयाँको दरले २५ जनाबाट भाडा उठाएको पाईएको यातयात व्यवसायी समितिका पदाधिकारीहरुलाई बोलाई बढी भाडा लिनेलाई रोकी अर्को गाडीमा यात्रु पठाईएको उनले जानकारी दिए ।
शुक्रबार र बुधबार यात्रुबाट बढी भाडा लिएको गुनासो आए पछि नारायणबाट भिमाद जाँदै ग १ ख ३८२४ नम्बर वसलाई पनि जारिवाना गरी बढी लिईएको रकम फिर्ता गरिएको प्रहरीले जनाएको छ । यसैगरी अस्थायी ट्राफिक प्रहरी पोष्ट आँबुखैरेनीले पनि बढी भाडा लिनेबाट यात्रुलाई फिर्ता गराएको छ । पाँच वटा माईक्रोबसबाट १६ जना यात्रुले रकम फिर्ता पाएका छन् ।
१३ हजार दुई सय रुपैयाँ बढी भाडा असुल गरेको पाईएको सम्बन्धित यात्रुलाई नै फिर्ता गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट आँबुखैरेनी प्रमुख तथा प्रहरी सहायक निरीक्षक रामकृष्ण गौलीले जानकारी दिए ।गौलीका अनुसार समानको पनि भाडा लाग्छ भन्दै लिएकाबाट २ सय देखि एक हजार ४ सय रुपैयाँ सम्म फिर्ता गरिएको हो।
