
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबार आज नेपाल आउदैछन्। राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा सी शनिबार नेपाल भ्रमणमा आउन लागेका हुन् ।
भारत भ्रमणमा रहेका सी त्यतैबाट शनिबार अपराह्न ०४ः३०–०५ः३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनको भ्रमणमा शनिबार साढे दुई घण्टा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल बन्द हुने जनाइएको छ। सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखबाट हुन लागेको हो ।
त्रिभुवन विमास्थलमा सीलाई उच्च सम्मानका साथ स्वागत गर्ने तयारी सरकारले गरेको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल अवतरणसँगै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत गरिने छ।
विमानस्थलमै सैनिक सलामी अर्पण गरिने छ। ६ बजे सी सोल्टी होटल जानेछन्। त्यसपछि ६ः३० बजे राष्ट्रपति भवन शीतलनिवास जाने कार्यतालिका छ। करिब ४५ मिनेट दुई पक्षीय छलफल पछि सोल्टी होटल फिर्ता हुने सवा सात देखि साढे सात बजेसम्म विपक्षी दलका नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ। ७ः३० देखि राजकीय भोजमा सहभागी हुनुका साथै सुरसुधा ब्याण्डद्वारा सांगीतिक प्रस्तुति गर्ने कार्यक्रम रहेको छ। शनिबार मुख्यगरी राष्ट्रपतिसँग भेट र राष्ट्रपतिको रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ।
