
पोखरा । आज दशैंको अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमा । सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर आज कोजाग्रत पूर्णिमा मनाइँदैछ ।
घटस्थापना मा सुरु भएको दुर्गा–लक्ष्मीको पूजा आज आइतबार आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाको साँझ समृद्धिकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर आज कोजाग्रत पूर्णिमा मनाइँदैछ ।
रातभरि जाग्राम बसी लक्ष्मीको आराधना गर्नाले समृद्धि प्राप्त हुने मान्यता रहेको छ । विजयादशमीका दिन सुरु भएको टीका जमरा लगाउने क्रम पनि आज सम्पन्न हुँदैछ। विजयादशमीदेखि चतुर्दशीसम्म पनि टीका लगाउन नभ्याएकाहरूलाई पूर्णिमाका दिन बिहान टीका लगाउने र जमरा तथा दसैंका पूजासामग्रीहरू सेलाउने चलन छ।
कोजाग्रत पूर्णिमाका दिन नेपालका राष्ट्रप्रमुखले भक्तपुरस्थित नवदुर्गा शक्तिपीठ दर्शन गर्ने परम्परा छ। वैष्णव धर्मअनुसार यसै दिन कार्तिक स्नान सुरु हुन्छ। बिहान सबेरै उठेर नुहाउने र आकाशमा तारा छँदै तुलसीको पूजा गर्नुपर्छ भन्ने मान्यता छ।
