
काठमाडौं । २ दिने राजकीय भ्रमणअन्तर्गत चिनियाँ राष्ट्रपति सी चिनफिङ बुद्धभूमि नेपाल आइपुगेका हुन् । चिनियाँ राष्ट्रपति सी विशेष विमानमार्फत केही समय अगाडि मात्रै काठमाडौं उत्रिएका हुन् ।
चिनियाँ राष्ट्रपति सी शनिबार भारतको चेन्नइबाट काठमाडौं आइपुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सी नेपाल आएका हुन् ।
राष्ट्रपति सी चिनफिङलाई समकक्षी भण्डारीले स्वागत गरेकी थिइन् । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।
शनिवार अराह्न सवा ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा नै सम्मान स्वरुप ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो ।
नेपाली सेनाको एक टुकडीले सीलाई सम्मान गारथ अर्पण गरेको थियो । त्यस क्रममा दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो ।
साँझ साढे ६ बजे राष्ट्रपति सीले नेपालका समकक्षी राष्ट्रपति भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्तालगत्तै उनी राष्ट्रपति भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने जनाइएको छ ।
शनिबारै साँझ राष्ट्रपतिसित प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले शिष्टाचार भेट गर्नेछन् । आइतबार बिहान साढे १० बजे द्विपक्षीय सम्झौताहरुमा हस्ताक्षर हुने बताइएको छ ।
त्यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न दलका नेताहरुसँग चिनियाँ राष्ट्रपति सीले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
करिब १८ घन्टा नेपालमा बिताएर राष्ट्रपति सी आइतबार दिउँसो साढे १२ बजे पछि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
