
काठमाडौं – नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्झौतापत्र आदानप्रदान गरिएको छ।
चीनका राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार–विमर्श भएको हो।
वार्तापछि राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा एक दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर भएको हो।
चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको थियो । त्यसअघि उनले नेकपाका सचिवालय सदस्यहरुसँग सामूहिक रुपमा भेटवार्ता गरेका थिए ।
सो भेटमा चिनियाँ राष्ट्रपति सीले आत्मअनुशासन बलियो बनाउन नेकपा नेताहरुलाई सुझाव दिएका थिर। चिनियाँ कम्युनिस्ट पार्टीमा आत्मअनुशासन बलियो रहेको भन्दै उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पनि आत्मअनुशासन बलियो हुनुपर्नेमा जोड दिए ।
राष्ट्रपति सी र नेकपाका नेताहरुबीचको सामूहिक भेटवार्तामा सीले नेपालको विकासलाई नजिकबाट नियालिरहेको र त्यसमा सहयोग गर्न चीन प्रतिबद्ध रहेको बताएको भेटपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सीले जनता, पार्टी र सरकारबीचको समन्वयात्मक सम्बन्धलाई अगाडि बढाउनुपर्नेमा पनि सो क्रममा जोड दिएका थिए । सन् १९४९ मा शक्ति आर्जन गरेपछि मात्रै चीनले विकास गरेको नभइ समयानुकुल जनतासँग जोडिएर विकास गरेको उनको भनाइ थियो ।
त्यसक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ र महासविच विष्णु पौडेल सहभागी भएका थिए ।
उनले शनिबार नै राष्ट्रपति भण्डारी र नेपाली कांग्रसका सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए । सीको सम्मानमा राष्ट्रपति भण्डारीले शनिवार राति रात्रिभोजको आयोजना गरेकी थिइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी शनिबार अपराह्नदेखि नेपालको दुई दिवसीय राजकीय भ्रमणमा थिए ।
२३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो। राष्ट्रपति सी आइतबार नै स्वदेश फर्किएका छन्।
