अन्तर्राष्ट्रिय क्रस-कन्ट्री दौडको तयारी पूरा, नेपाल र चीनका १ सय ५ धावक सहभागि हुने

Share:

पोखरा । पोखरामा आउँदो बुधबार हुन लागेको अन्तर्राष्ट्रिय क्रस-कन्ट्री दौड २०१९ को तयारी पूरा भएको छ । पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ र कुनमिङ माउण्टेनियरिङ एण्ड एक्सप्लोरेसनको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो ।

कार्यक्रम संयोजक विश्वशंकर पालिखेले पोखरालाई चीनको पर्यटकीय बजारमा परिचित गराउन र साहसिक खेलकुद केन्द्र बनाउनका लागि आयोजना गरिएको प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

पोखरासँग भगिनी सम्बन्ध रहेको चीनको कुनमिङ शहर र पोखरा महानगरपालिकाको संरक्षकत्वमा दौड हुँदैछ । नेपालमै पहिलोपटक हुन लागेको प्रतियोगिताले साहसिक खेल पर्यटन प्रवर्धनमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।

दौडका लागि चीनका करिब ३० जना धावकसहित ६० जनाको टोली पोखरा आउने छ । धावकबाहेक चिनिँया पत्रकार र अफिसियल सो टोलीमा छन् । यस्तै प्रतियोगितामा नेपालबाट २५ टिम सहभागि हुने छन् । २५ टिममा नेपाल पुलिस, नेपाली सेना र सशस्त्र प्रहरी बलको एपिएफलगायत छन् ।

४२.२ किलोमिटर दुरीको यो दौडको दूरी २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङ हुनेछ । आयोजकका अनुसार दौडमा सहभागि हुने धावकहरु मट्टिखान तथा पुम्दीभुम्दीको १३ सय मिटरको उचाईसम्म पुग्नेछन् ।

दौडमा सहभागि हुने हरेक टोलीमा एकजना महिला अनिवार्य हुनुपर्ने नियम राखिएको छ । त्यसमा दुई महिला र एक पुरुष वा एक महिला दुई पुरुष राख्न पनि सकिनेछ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने चिनियाँ टोलीलाई ट्रफी प्रदान गरिने छ ।

यस्तै प्रथम, द्धितीय र तृतीय हुने टोलीका ९ जना नेपाली धावकले चीनको कुनमिङ शहरमा आगामी नोभेम्बरमा हुने माउण्टेनियरिङ रेसमा सहभागि हुने अवसर पाउने छन् । यसबाहेक प्रतियोगितामा व्यक्तिगत रुपमा समेत सहभागिता जनाउन सकिने कास्की जिल्ला खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष याम गुरुङले जानकारी दिए ।

प्रतियोगितामा एकलतर्फ ३० जना सहभागि हुने भएका छन् । प्रतियोगितामा सबै गरेर १ सय ५ जना खेलाडीले सहभागिता जनाउने उनले बताए । दौड बिहान ९ बजे सुरु हुनेछ ।

बैदामको बाराही घाटबाट सुरु हुने ‘मेघा इभेण्ट’ गौरीघाट, सहिदचोक, राष्ट्रबैंकचोक, ड्यामसाइड हँदै पार्दी पुल, डेविज फल, तिब्बतियन क्याम्प, फुस्रेखोला, राम्दी, मट्टीखान रिर्सोट, रामकोट, कुभिण्डे, पुम्दी-भुम्दीको उल्लेरी, खरिखानी, लुकुन्स्वाँरा, लिचिबोट र फेवातालमा बोटिङ गर्दै बाराही घाटमा नै पुगेर टुङ्गिने छ ।

एकलतर्फको दौड ४० किमिको हुनेछ । नेपाल पर्यटन बोर्डले प्रवर्धन गरेको दौडलाई एथलेक्ट सोसाइटी काठमाण्डौ, जिल्ला खेलकुद विकास समिति कास्की, भूतपूर्व खेलाडी मञ्च पोखरा, सहारा क्लबलगायत विभिन्न संघ÷संस्थाले सघाएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: