
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही पनि भएन भन्नेहरुलाई आँखा खोलेर हेर्न आग्रह गरेका छन् ।
दशैं, तिहार र छठ पर्वको अवसरमा नेकपाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले हल्लाको पछाडि नलाग्न आग्रह गरे ।
उनले सरकारले केही पनि गरेन भनेर हल्ला गर्नेहरुलाई सरकारको कामले केही फरक पर्यो कि परेन भनेर बुढाबुढीलाई सोध्न आग्रह गरे ।
सभ्रान्त वर्गको घर, जागिर, गाडी सम्पत्ति थियो । फरक नपरेको होला तर बुढाबुढीहरुलाई गएर सोध्नुस् त जीवनमा फरक परेको छ कि छैन ?’ उनले भने ।
निश्चित उद्देश्य बोकेको मानिसहरुले मात्र केही भएको छैन भनेर भ्रम फैलाएको उनले बताए । उनले भ्रष्टाचारमुक्त, सुशासनयुक्त देश बनाएर तिव्र विकासको बाटोमा लैजाने बताए ।
निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरा, कांग्रेस सांसद अफताब आलम र राजपा सांसद प्रमोद साह पक्राउ परेको तर्फ इंगित गर्दै प्रम ओलीले कानुनका नजरमा सबै बराबर हुने बताए । “भनसुनमा कत्ति पनि विश्वास गरिँदैन,” उनले थपे ।
कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल, चीन र भारतको त्रिदेशीय साझेदारीको आधार बन्दै गएको बताए । प्रचण्डले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल र ऐतिहासिक भएको सुनाए ।
