
काठमाण्डौ । काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ एनआरएनएको नयाँ नेतृत्व चयनका लागि बुधबार बेलुका स्थगित भएको मतदान आज १० बजेदेखि हुँदैछ । तर, आज हुने भनिएको मतदान विद्युतीय प्रक्रियाबाट नहुने भएको छ।
बुधबार अबेर सुरु भएको मतदान भोटिङ मेसिनमा समस्या आएपछि बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित भएको थियो । बुधबार मतदाता नामावलीमा विवाद भएपछि मतदान प्रक्रिया ढिलो मात्रै सुरु भएको थियो । मतदान सकिएको एक घण्टाभित्र नतिजा सार्वजनिक गरिने संघले जनाएको छ । संघको नयाँ अध्यक्षमा कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ ।
काठमाण्डौको हायात होटलमा मंगलबार भएको सम्मेलनपछि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, क्षेत्रीय संयोजक तथा उप–संयोजक, महिला र युवा उपसंयोजक गरी २५ जना नयाँ सदस्यका लागि ७५ जना उम्मेद्वार छन् ।
सम्मेलनमा २८ सय प्रतिनिधि सहभागि भए पनि मतदाता सूचीमा २४ सय मात्र रहेकाले सूचीमा समेटिएकाले मात्र मतदान गर्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचनका बारेमा विवाद हुँदा एनआरएनएका प्रतिनिधिले बुधबार होटलमा तोडफोडसमेत गरेका थिए । सम्मेलन स्थलमा नाराबाजी भएपछि बुधबार देखि उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
प्रतिनिधिहरुले विरोध गर्नसक्ने भन्दै आज पनि सम्मेलन स्थलमा सुरक्षा सतर्कता अपनाइएको छ । एनआरएनएको विश्व सम्मेलन मंगलबारबाट काठमाडौंमा सुरु भएको हो।
