डब्लुसीएलमा काठमाडौं क्विन्ससंग पोखरा पल्टन पराजित

Share:

काठमाण्डौ। काठमाण्डौमा जारि वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) मा पोखरा पल्टन काठमाडौं क्विन्ससंग पराजित भएको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा पोखरा काठमाडौंसंग ८२ रनले पराजित भएको हो।

काठमाडौंले दिएको १५३ रनको विशाल लक्ष्य पछ्याएको पोखरा १६ ओभर ५ बलमा सबै विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो । पोखराका लागि कप्तान सिता राना मगरले १७ तथा बिन्दु रावलले १३ रन जोडिन । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाएको थियो । काठमाडौंको लागि कप्तान रुबिना क्षेत्रीले नटआउट ८३ रनको अर्धशतकीय इनिङ्स खेलेकि थिइन् । उनले ६७ बलको सामना गर्दै १४ चौका र २ छक्का प्रहार गरिन् ।

यस्तै काठमाडौंका लागि रोमा थापाले १९, सोभा आलेले १२ तथा ईश्वरी बिष्टले अविजित १० रन प्रहार गरिन् । काठमाडौंविरुद्ध पोखराकी अनुराधा चौधरीले ४ तथा कविता कुँवरले १ विकेट लिईन् ।

पोखरालाई सस्तैमा समेट्न काठमाडौंकी सरस्वती कुमारी र अप्सरी बेगमले समान २–२ विकेट लिईन् । यस हारसंगै पोखराले लिगमा सुखद सुरुवात गर्न मौका गुमाएको छ।

पोखरालाई पराजित गरेको काठमाण्डौले २ खेलमा २ अंक जोडेको छ । बुधबार भएको खेलमा काठमाण्डौ चितवनसँग ५ विकेटले पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: