
पोखरा। नेवा खलः कास्कीको बैठकले यसपटकको नेपाली पात्रोमा तिहारको तिथीमा त्रुटी रहेको भन्दै १३ गते भाइटीका पुजा गर्ने निर्णय गरेको छ । खलले यस वर्षको तिहारको तिथिमा नेपाल पञ्चागं निर्णायक समितिले नेवारहरुले मान्दै आएको नेपाल संवत् र म्हः पुजाको दिन पात्रोमा गडबड भएको बताएको छ ।
यसका अलावा औंसीको दिनमा गरिने गाइपुजा तथा लक्ष्मी पुजा पनि औंसीको दिनमा नरहेकोले गडबडी पुष्टी भएको खलःका अध्यक्ष अशोक पालिखेले बताए ।नेपाल पञ्चागं निर्णायक समितिका अनुसार यसपटक यमपञ्चकका रुपमा मनाइने तिहारको पहिलो दिन कार्तिक ९ गते काग तिहार, १० गते कुकुर र लक्ष्मी तिहार रहेको छ ।
११ गते औंसीका दिन भने म्हपूजा र १२ गते न्हु दँ (नयाँ वर्ष) नेपाल सम्वत ११४० र भाइटिका रहेको छ । यी तिथिहरु नेवार समुदायले मनाउँदै आएको स्वन्ति नखः भन्दा ठीक विपरीत छन् । पालिखेले नेवार समुदायलाई समितिले प्रकाशित गरेको पात्रोको आधारमा नभइ परापूर्वकालदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिँदै ’स्वन्ति’ मनाउन नेवार समुदायलाई आह्वान गरेको छ । जसअनुसार, नेवार समुदायले औंसीकै दिन कार्तिक ११ गते मात्रै लक्ष्मी पूजा गर्न आग्रह गरिएको छ ।
पात्रोमा भाइटिका रहेको प्रतिपदाको दिन कार्तिक १२ गते नेपाल सम्वत र म्हपूजा मनाएर मात्रै द्धितियाको दिन कार्तिक १३ गते बुधवार भाइटीका मनाउने पनि खलः ले निर्णय गरेको छ । ‘नेपाल भाषा मंका खलले पनि देशभरका नेवार समुदायलाई यहि अनुरुप गर्न आग्रह गरेको छ ।’ पालिखेले भने ‘शताब्दी पुरुष सत्यमोहन जोशीले पनि परम्परागत रुपमै चल्दै आएको स्वन्तीलाई निरन्तरता दिन आग्रह गरेको हुनाले हामी सोही मुताविक नै गर्दैछौं’ ।
नेवा खलः कास्की अन्र्तगतका सम्पुर्ण कचा खलः (शाखा) हरुलाई पत्राचार नै गरेर निर्णय मुताविक गर्न अनुरोध गरेको छ । १३ गते भाइटिकाको दिन सार्वजनिक विदाका लागि गण्डकी प्रदेश सरकारसंग आग्रह गरिने पालिखेले जानकारी दिए ।
