शुक्लागण्डकीका भूमिहीनले लालपूर्जा पाउने

Share:

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको अव्यवस्थित घरजग्गा दर्ता गर्नका लागि प्रक्रिया अगाडि बढेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले अव्यवस्थित घरजग्गा दर्ता गर्नका लागि प्रक्रिया अगाडि बढाएको हो ।

केही समय अगाडि एक कार्यक्रमका माझ सङ्घीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्यमा कुमारी अर्यालले दशैँ अगाडिनै लालपुर्जा प्रदान गर्ने आश्वासन जनाएकी थिइन् । उनकै पहलमा यस कार्यले तीव्रता पाएको हो ।

शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दीमा १ हजार घरधुरी वासिन्दा लामो समयदेखि लालपूर्र्जािवहीन अवस्थामा रहेका छन् । वि.सं २०११ देखि जग्गा दर्ता नहुँदा उनीहरू लालपूर्जा्विहीन अवस्थामा छन् । अब भने दर्ता गर्ने प्रक्रिया अगि बढेपछि त्यहाँका बासिन्दाले लालपूर्जा पाउने भएका छन् ।

मन्त्रालयले अव्यवस्थित बसोबासीका नाउँमा जग्गा दर्ता गर्ने समितिको कार्यालय स्थापना गरी वर्षौंदेखि लालपूर्जा्विहीन रहेका स्थानीयलाई लालपूर्जा दिन काम शुरू गरेको छ ।

नेपाल राजपत्रमा प्रकाशित भएअनुसार गठित समितिको २०७६ असोज ७ को निर्णयमा दफा ८ बमोजिम समितिको कार्यक्षेत्र विभाजन गरी घरजग्गा दर्ता गर्न निवेदन माग गरिएको कार्यालयका सदस्य–सचिव ठाकुरप्रसाद सिग्देलले जानकारी दिए ।

समितिले शुक्लागण्डकी नगरपालिकाको साविक दुलेगौडा गाविसको वडा नम्बर ७, ८ र ९ र साविक ढोरफिर्दी गाविस वडा नम्बर ३ का अव्यवस्थित बसोवासीलाई ३५ दिनभित्र प्रमाणसहित निवेदन दिन आग्रह गरेको छ ।

निवेदनसंगै नेपाली नागरिकताको प्रतिलिपि सहित शुक्लागण्डकी नगरपालिकाले भोग एकीन गरि दर्ताको लागि दिएको सिफारिस पत्र समेत आवश्यक पर्ने सिग्देलले जानकारी दिए । यस्तै घर जग्गाको तिरो भरेको प्रमाणका साथै भए नक्सापास वा अन्य प्रमाण बुजाउनपर्ने सिग्देलले बताए ।

निवेदन संकलन गर्न जग्गा दर्ता समिति गठन गरिने र उक्त समितिले संकलित निवेदन नगरपालिकाको अस्थाई कार्यालयमा बुजाउने शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष कृष्ण प्रसाद रेग्मीले जानकारी दिए।

विसं २०११ देखि जग्गा दर्ता नहुँदा लालपुर्जा्विहीन अवस्थामा बसेका स्थानीयको नाममा जग्गा दर्ता हुनु सकारात्मक रहेको रेग्मीले बताए । अब भने उनीहरुको नाममा जग्गा दर्ता हुनेमा रेग्मीसहित अन्य वडाका प्रतिनिधि र स्थानिय आशावादी छन्।

यस्तै शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ का स्थानीय नारायण पोखरेल जग्गा दर्ता हुनु राम्रो भएको र यो कार्य निष्पक्ष रुपमा हुनु पर्ने बताउँछन्।

कमेन्ट गर्नुहोस्
Share: