
काठमाण्डाै – उपराष्ट्रपति नन्दबहादुर पुनले विदेशका अध्ययन र कार्यरत युवा वैज्ञानिकलाई स्वदेश फर्कन आह्वान गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त पहलमा साेमबारदेखि सुरु भएको तीनदिने अन्तर्राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै उनले देशको समृद्धि र विकासका लागि युवा वैज्ञानिकले देशमै रहेर योगदान दिनुपर्ने बताएका हुन् ।
बेलायतमा औद्योगिक क्रान्तिपश्चात प्रविधिको विकास भएको उल्लेख गर्दै उनले त्यसैगरी नेपाली वैज्ञानिकले पनि विज्ञान प्रविधि र नवप्रवर्तनलाई नेपाली जनजीवनसँग जोड्न आवश्यक रहेको जनाए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधि एकअर्कासँग अन्तरसम्बन्धित रहेकाले यो बिना मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउँदै युवा वैज्ञानिकलाई स्वदेशमा फर्काएर प्रतिभाको सम्मान गरिने कार्यक्रम रहेको बताए।
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले विज्ञान र प्रविधिको प्रयोगमार्फत सुशासन, विकास र समृद्धि दिएर सबै नेपालीको घरआँगनमा खुशी दिलाउन सरकार प्रयत्नशील रहेको बताए। नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले विज्ञान र प्रविधिका क्षेत्रमा काम गर्न सरकारले थप बजेट विनियोजन गर्न आग्रह गरे।
युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले प्रदेश नं १ मा राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र खोल्न लागेको जानकारी दिँदै सातै प्रदेशमा क्रमशः यस केन्द्रको विस्तार गरिने बताए ।
सम्मेलनमा ‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराको साथ विदेशमा रहेका २० देशबाट नेपाली युवा वैज्ञानिकले भाग लिएका छन् भने भारत, जापान र चीनबाट समेत वैज्ञानिकको सहभागिता छ । ६ चरणमा विभाजित सम्मेलनमा १८ वटा विषयमा कार्यपत्र प्रस्तुति, छलफल र ज्ञानको आदानप्रदान हुनेछ । कार्यक्रममा भारतका वैज्ञानिक किसान लालको पनि उपस्थिति छ ।
समृद्धिका लागि नवप्रवर्तन, संस्थागत सुधार, विज्ञानमा लगानी, पूर्वाधार विकास, सुरक्षाको लागि विज्ञान तथा विज्ञान, प्रविधि र नवप्रवर्तनमा युवाको सहभागिता, विज्ञानमा कुटनीतिक प्रयोग, विज्ञान, प्रविधि र नवप्रवर्तनको नीति निर्माण, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि शैक्षिकलगायत विषयमा सम्मेलनमा छलफल हुनेछ ।
File Photo
