
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १९ को भोटीखोलामा मोटेरेबल पुल बन्ने भएको छ । साविक लामाचौर र पुरनचौर गाविसको सिमानामा पर्ने भोटीखोलामा निर्माण हुने पुलको बिहीबार शिलान्यास गरिएको छ ।
लामाचौर—माछापुछ्रे ग्रामीण सडक अन्तर्गत पर्ने उक्त पुलेको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले शिलान्यास गरेका हुन् । पुल शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख जिसीले जनताले करको तिरबाट नै महानगरले पुल बनाउन लागेको बताए ।
‘महानगरले ढाड सेक्ने गरी कर उठायो भन्ने गुनासो सुनिन्छ,’ प्रमुख जिसीले भने,‘जनताले तिरेको करबाट संकलित रकमलाई महानगरले विकास निर्माण लगायतमा खर्च गरेको छ ।’
कर सही ढंगले सहुपयोग भएको छ कि छैन जनताले चाँसो दिनुपर्ने र दुरुपयोग भए खबरदारी गर्ने दायित्व नगरवासीको भएको उनले बताए । महानगरपालिकाले यस वर्ष ७ वटा पुल निर्माणको कामलाई अगाडि बढाउने उनले जानकारी दिए ।
शिलान्यास कार्यक्रममा पोखरा महानगरपालिका इन्जिनियर ध्रुव भट्टराईले २५ मिटर लम्बाई र साढे सात मिटर चौडाइको आरसीसी पुल निर्माण हुने बताए ।
उनका अनुसार पोखरा महानगरपालिकाले उक्त पुलनिर्माणको लागत अनुमान २ करोड ९२ लाख ९७ हजार अनुमान गरेकोमा श्रीगीता कन्स्ट्रक्सन स्याङ्जाले २ करोड ३८ लाख ५५ हजारमा काम सक्ने गरी सम्झौता गरेको छ ।
निर्माण कम्पनीसँग गत भदौ ५ गते सम्झैता गरिएको छ भने २०७७ मंसिरमा सम्पन्न गर्ने समयसिमा तोकिएको छ । निर्माण कम्पनीका राजेश मल्लले तोकिएको समय भन्दा अगाडि नै पुल निर्माण गरिसक्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पुल निर्माणपछि साविक लामाचौर, पुरनचौर र माछापुछ्रे, सार्दीखोला, करुवा लगायतका क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन् ।
