
काठमाडौं । यमपञ्चक अन्तर्गत आज (शनिबार) काग तिहार पर्व मनाइँदैछ। कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा पूजा अर्चना गरेर कागलाई चोखो मीठो खान दिएर मनाउन गरिन्छ ।
कागले अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्रा खाइदिन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो।
कार्तिक कृष्ण त्रयोदशीकै दिन सुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेखि नै शुरु भएको छ। शुक्रबार बेलुकी त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक शुरु गर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार नै परेको छ । तिथिको घटबढका कारण यस्तो भएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
