आज लक्ष्मीपूजा र कुकुर तिहार मनाईंदै

760
0
Share:

काठमाडौं। नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार अन्तर्गत आज लक्ष्मीपूजा र कुकुर तिहार एकै दिन परेको छ। आज (आइतबार) बिहान नरक स्नानसहित कुकुरपूजा र बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

बिहान ११ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत्रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिए। आजको दिन कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । कुकुरलाई यमदूतका रूपमा पनि लिइन्छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।

यस्तै, आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । आजको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलिमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

प्रायजसो तिहारमा गाईपूजा र लक्ष्मीपूजा एकै दिन पर्ने भए पनि यो वर्ष भने कुकुर तिहारको दिन लक्ष्मीपूजा परेको छ।

कमेन्ट गर्नुहोस्
Share: