महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती मनाईंदै

360
0
Share:

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज स्वदेश र विदेशमा मनाइँदैछ। महाकवि देवकोटाको जन्म काठमाडौंको डिल्ली बजारमा वि.सं. १९६६ साल कात्तिक कृष्ण औँसी लक्ष्मी पुजाका दिन भएको थियो।

दश वर्षको उमेरमै कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, समालोचना तथा फुटकर कविता प्रकाशित छन्। उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन् । नेपालमा आधुनिक साहित्य लेखन सुरु गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय पुस्तक हो।

स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन भएको पाइन्छ। महाकवि देवकोटाले विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत महत्वपूर्ण योगदान गरेका थिए। उनले तीन महिनामा ‘शाकुन्तला’ महाकाव्य, दशदिनमा ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका थिए।

महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैले अङ्ग्रेजीमा अनुवाद गरे । उनले पाश्चात्य ग्रिसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गरेका छन् । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् । उनको २०१६ भदौ २९ गते निधन भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: