
पोखरा । मंसिर १४ गते हुन लागेको उपचुनावका लागि कास्की क्षेत्र नम्बर २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले थप २ जनाको नाम सिफारिस गरेको छ। कास्की जिल्ला कमिटी कास्कीले सर्वसम्मत उम्मेदवार बनाएकी विद्या भट्टराईसहित अन्य २ जनाको नाम प्रदेश कमिटीले केन्द्रीय कमिटीमा सिफारिस गरेको पठाएको हो।
सिफारिश हुनेमा स्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईसहित सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ रहेका छन् । प्यासी नेकपाका पुराना वामपन्थी नेता हुन् भने करण विगत २०७४ को निर्वाचन कास्की २ (ख) बाट प्रदेशसभामा झिनो मतले पराजित भएका थिए ।
यसअघि नेकपा जिल्ला कमिटीको कात्तिक ८ गतेको निर्णयले विद्या भट्टराईको एकल नाम सिफारिश गरे पनि केन्द्रले तीन जनाको नाम सिफारिश गर्न भनेकाले दुई जनाको नाम थपिएको नेकपा गण्डकी इन्चार्जसमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
नेकपा गण्डकी अध्यक्ष हितराज पाण्डेले केन्द्रको निर्देशन अनुसार तीनजनाको नाम सिफारिस गरिएको जानकारी दिए। प्रदेश कमिटीले सिफारिसका क्रममा पहिलो नम्बरमा विद्या, दोस्रोमा सोमनाथ र तेस्रोमा रामकाजीको नाम राखेर पठाएको छ।
मंसिर १४ गते उपनिर्वाचन हुन लागेको कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ११ वडा छन्।
