
पोखरा। मंसिर १४ गते हुने कास्की क्षेत्र नं.२ को प्रतिनीधिसभाको उपनिर्वाचनक लागि समाजवादी पार्टीले ५०१ सदस्यीय चुनाव प्रचार प्रसार समिति घोषणा गरेको छ।
समाजवादी पार्टीको बिहिबार सम्पन्न विशेष भेलाले कास्की जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङ संयोजक र पोखरा महानगर समिति अध्यक्ष टिकाराम पौडेल सहसंयोजकत्वमा चुनाव प्रचार प्रसार समिति गठन गरेको हो।
उपनिर्वाचनमा बैकल्पिक राजनीतिक शक्ति समाजवादी पार्टीले आफ्नो उम्मेदवारलाई विजयी गराउन समेत विभिन्न उपसमितिहरु समेत गठन गरेको छ।
पोखरा महानगरपालिकाको वडा नं. ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ गरी एघारवटा वडामा ब्लक ब्लक र वडा वडाका कमाण्डका लागि केन्द्रीय, प्रदेश र तमुवानका नेताहरुलाई जिम्मेवारी प्रदान गरिएको गण्डकी प्रदेश इञ्चार्ज गणेशमान तमुले जानकारी दिए।
कास्की क्षेत्र नं. २ को उम्मेदवारका लागि गण्डकी प्रदेश समितिले धर्मराज गुरुङ, हेमबहादुर थापा किरण र रामबहादुर नेपालीको नाम केन्द्रमा सिफारिस गरेको छ।
सिफारिस गरिएका नाम मध्येबाटै केहि दिनमा नै केन्द्रीय पदाधिकारी बैठकले उम्मेदवार घोषणा गर्ने भएको छ ।
यता पार्टीको प्रदेश कमिटिले बाग्लुङ जिल्लाको क्षेत्र नं.२(ख) प्रदेश सभा सदस्य उपनिर्वाचनमा उम्मेदवारका लागि ४ जना नेतालाई केन्द्रीय समितिमा सिफारिस गरेको छ।
गण्डकी प्रदेश अध्यक्ष मोति रिजालका अनुसार सिफारिस गरिएकाहरुमा अशोककुमार विक, देवबहादुर सुनार, पुर्णबहादुर घर्ती मगर र शंकरबहादुर कुँवर रहेका छन।
बाग्लुङ जिल्लाको क्षेत्र नं.२(ख) प्रदेश सभा सदस्यमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित टेकबहादुर घर्तीको गत वर्ष मंसिर २६ गते कमलपित्त रोगबाट निधन पश्चात मंसिर १४ गते उक्त क्षेत्रमा निर्वाचन हुने भएको हो।
यस अघिको निर्वाचनमा तत्कालिन एमाले, माओवादी केन्द्र र राजमोले गठबन्धन गरी घर्तीलाई विजयी गराएका थिए।
