
काठमाडौं । मंसिर १४ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न सत्तारुढ नेकपाको सचिवालय बैठक बैठक आज बस्दैछ । शुक्रबार बिहान प्रधानमन्त्री निवासमा दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफलपछि सचिवालय बैठक बोलाइएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालय बैठकले जिल्लाबाट आएका नामबाट उम्मेदवार टुंगो लगाउने बताइएको छ । नेकपाले प्रतिनिधिसभा, प्रदेशसभा र उपमहानगरपालिकाका मेयर उम्मेदवार केन्द्रबाट तय गर्ने तथा गाउँपालिका अध्यक्ष उपाध्यक्ष प्रदेश कमिटीले तय गर्ने मापदण्ड बनाएको छ । त्यस्तै वडाध्यक्षका उम्मेदवारका हकमा सम्बन्धित जिल्ला कमिटीले निर्णय गर्नेछन् ।
यसअघि पार्टी केन्द्रले तीन जनाको नाम सिफारिस गर्न जिल्ला कमिटीहरूलाई निर्देशन दिएको थियो । कतिपय स्थानबाट तीन जना भन्दा बढी व्यक्तिको नाम सिफारिस गरिएको छ । प्रतिनिधि सभा सदस्य रिक्त रहेको कास्की–२ बाट तीन जनाको नाम केन्द्रमा पठाइएको छ ।
एक प्रतिनिधिसभा, तीन प्रदेशसभा, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्षसहित ४३ वडाध्यक्षको लागि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।
