उम्मेदवार बारे नेकपाले कुनै निर्णय गरेन, भोलि फेरि बस्ने

486
0
Share:

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको बैठक उप-निर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने सकेन। बैठकमा उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार चयन गर्ने विषयमा प्रारम्भिक छलफल मात्र भएको छ। बैठकमा कास्की क्षेत्र नम्बर २, तीन वटा प्रदेशसभा र रिक्त स्थानीय तहमा मंसीर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्नेबारे प्रारम्भिक छलफल भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘आज समय अभावका कारण उम्मेदवारको चयन हुन सकेन। भोलि पुन: बैठक बसेर उम्मेदवार छनोट हुनेछ।’

आजको बैठकले तल्ला कमिटिले पठाएका नामहरुको प्रारम्भिक अध्ययन मात्रै गरेको प्रवक्ता श्रेष्ठले जानकारी गराए। उनले भने, ‘कहीँबाट १ जनाको मात्रै सिफारिस परेको छ। कहीँ तीन जनाको सिफारिस आएको छ। केही ठाँउबाट त्यो भन्दा बढी पनि नाम आएको छ।’ उनले आइतबार बस्ने सचिवालय बैठकले उम्मेदवार तय गर्ने जानकारी दिएपनि कति बजे बस्ने भन्ने अहिले तय भइसकेको छैन।

बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाको पनि जानकारी गराएका थिए। प्रधानमन्त्री ओलीको बोली उधृत गर्दै श्रेष्ठले भने,‘गम्भीर समस्या भएर सिकिस्त भएको होइन। चिकित्सकको परामर्श अनुरुप डायलाइसिस गरिएको हो।’

कमेन्ट गर्नुहोस्
Share: