पिपिएल सागका कारण पछि धकेलियो, तयारीमा जुटिसक्यौंः छुम्बी लामा

1947
1
Share:

पोखरा। नेपाली खेलकुद जगतमा सबैभन्दा बढी आशा जोडिएको खेल क्रिकेट हो भन्दा दुई मत नआउला । सन् १९९६ मा पहिलो पटक  अन्तर्राष्ट्रिय स्तरको खेल खेलेको नेपालले निकै लोभलाग्दो उपलब्धि हासिल गरिसकेको छ । नेपालले सन् २०१४ को टि–ट्वान्टी विश्वकप समेत खेलिसकेको छ । नेपालले २०१८ मा आईसिसीको एकदिवसिय मान्यता समेत पाइसकेको छ ।

एकदिवसिय मान्यता पाएको नेपाल अहिले एकदिवसिय विश्वकप खेल्ने, टेष्ट मान्यता पाउने जस्ता लक्ष्य लिएर खेलिरहेको छ । तर नेपाली क्रिकेटको अपार सम्भावना भए पनि राजनीति, कमजोर घरेलु संरचना र क्रिकेट सङ्घका पदाधिकारीको महत्वाकांक्षी भावनाले क्रिकेट थला परिसकेको थियो ।

क्रिकेट सङ्घ निलम्बित भएपछि पनि नेपाली क्रिकेटले खेलाडीको एकल प्रयासमा मात्र विश्वकप छनौट खेलेको थियो । अहिले क्रिकेट सङ्घको निलम्बन फुकुवा भएको छ । अब भने घरेलु क्रिकेटमा क्रिकेट सङ्घले नितान्त आफ्नो महत्वाकांक्षा छाडेर काम गर्नुपर्ने देखिन्छ ।

क्रिकेट सङ्घ निलम्बनमा हुँदा नेपालमा निजी क्षेत्रको लगानीमा धेरै फ्रेन्चाइज लिगहरु भएका थिए । अहिले पनि नेपालमा निजी क्षेत्रको साथमा ईपिएल, डिपिएल, पिपिएल जस्ता लिगहरु आयोजना हुँदै आएका छन् । पुरुष क्रिकेटको घरेलु खेलहरु धेरै भइरहेका बेला महिला क्रिकेट भने शुन्य जस्तै रहेको थियो ।

प्रधानमन्त्री कप महिला क्रिकेट बाहेक अरु प्रतियोगिता हुँदैनथे जस्ले गर्दा महिला क्रिकेटरले व्यवसायिक रुपमा क्रिकेट खेल्न बाट बञ्चित रहेका थिए । तर यही असोजमा नेपाल मात्र नभई एसियामै पहिलो पटक महिला फ्रेन्चाइज लिग वुमन्स च्याम्पियन्स लिग आयोजना भएको थियो । यसको आयोजक रहेको थियो – क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रा.लि ।

पहिलो पटक काठमाडौँ बाहिर पोखरामा पोखरा प्रिमियर लिग आयोजना गरेको क्वीन्स इभेन्ट प्रा.लिले महिला फ्रेन्चाइज आयोजना गरेको थियो । क्वीन्स इभेन्टलाई प्रत्यक्ष रुपमा राष्ट्रिय पुरुष टोलीका खेलाडीको साथ मिलेको थियो ।

वुमन्स च्याम्पियन्स लिग र पोखरा प्रिमियर लिगको आयोजना अनुभवबारे क्रिकेट संघका पूर्व चिफ अपरेशन अफिसरसमेत रहेका क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रा.लिका प्रबन्धक निर्देशक छुम्बी लामासँग बिगखबरकर्मी अनिष भट्टराईले गरेको कुराकानीको सम्पादित अंश :-

भर्खरै वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) सम्पन्न गर्नुभएको छ । पिपिएल पछि डब्लुसिएल आयोजनाको समग्र अनुभव कस्तो रह्यो ?

यो आफैँमा एउटा नयाँ सुरुवात थियो । एसियामै पहिलो पटक फ्रेन्चाइज लिग आयोजना ग¥यौँ । पुरुष क्रिकेटको दाँजोमा महिला क्रिकेटको अन्तराष्ट्रिय स्तरमा प्रदर्शन निकै राम्रो छ । तर पनि घरेलु स्तरमा अझै पनि महिला क्रिकेट शुन्य जस्तै रहेको छ ।

यो एउटा सुरुवात रहेको थियो र यसले सकारात्मक सन्देश दिएको छ । यो प्रतियोगिता सफल ढंगले सम्पन्न भएपछि महिला क्रिकेटरसामु सकारात्मक सन्देश गएको छ । आगामी दिनहरुमा वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) लाई अझ व्यवस्थित तरिकाले अगाडि बढाउनु पर्छ भन्ने हामीले सोचेका छौँ ।

डब्लुसिएल सम्पन्न गरिसकेपछि नेपाली महिला क्रिकेटमा सम्भावना र चुनौती के–के देख्नु भएको छ ?

नेपाली महिला क्रिकेटमा समस्या धेरै छन् । नेपाली महिला क्रिकेट खेलाडीलाई खेल्नका लागि अझैपनि गाह्रो रहेको छ । घरेलु क्रिकेट शून्य हुनाले खेल्न निकै गाह्रो छ । परिवार बाट पनि खेल्न अनुमति नपाएका पनि हुन्छन् । अरु खेलको तुलनामा क्रिकेटको सामान्य सामान किन्न पनि निकै महङ्गो पर्दछ ।

अभिभावक स्वयंले पनि आफ्ना छोरीहरुलाई क्रिकेट खेल्न जा भनेर भन्ने वातावरण पनि रहेको छैन । अहिले सम्म सिमीत खेलाडीले गर्दा मात्र नेपाली महिला क्रिकेट अगाडि बढेको अवस्था रहेको थियो । तर अब भने डब्लुसिएलले त्यो अवस्थाको अन्त्य गरेको छ ।  यसले व्यवसायिक रुपमा पनि क्रिकेट खेल्न सकिन्छ भन्ने सन्देश दिएको छ ।

अहिले ८०–९० खेलाडीको संलग्नतामा यो प्रतियोगिता सम्पन्न भएको छ । यसले सबै खेलाडी, अभिभावकको आँखा खोलेको छ । अब चाहिँ क्रिकेट खेलेर पनि कमाउन सकिन्छ भन्ने सन्देश गएको छ जसले गर्दा क्रिकेट खेल्न रोक लगाउने अभिभावकले पनि अब क्रिकेट खेल्न दिने अवस्था बनेको छ ।

चुनौती धेरै छन् । लगानीको कुरामा अझ बढी समस्या रहेको छ । सरकारको लगानी कम छ । यी तमाम चुनौतीलाई हामीले अवसर बनाएर डब्लुसिएल सम्पन्न ग¥यौं र महिला खेलाडीको प्रयास देख्दा नेपाली महिला क्रिकेटको पनि राम्रो सम्भावना देखियो ।

आगामी वर्षहरुमा डब्लुसिएललाई निरन्तरता दिने कुरामा विश्वस्त हुनुहुन्छ ?

एकदमै । यो केवल एउटा सुरुवात हो । हामीलाई सबैको साथ र सहयोगको आवश्यकता पर्दछ । भर्खरै क्रिकेट सङ्घको पनि निलम्बन फुकुवा भएकोे छ ।

अब क्रिकेट सङ्घ, राष्ट्रिय खेलकुद परिषद्, खेलाडी, कर्पोरेट्स लगायत सबै क्षेत्रको सहयोग पाउँछौँ भन्ने कुरामा आशावादी रहेका छौँ । अर्को संस्करण अझै व्यवस्थित तरिकाले सञ्चालन गर्ने कुरामा निकै विश्वस्त छौँ ।

पोखरा प्रिमियर लिगको कुरा गरौँ । दोस्रो संस्करणको पिपिएल आयोजनाका लागि कसरी तयारी थाल्नु भएको छ ?

हामीले अहिले पनि पिपिएलको तयारी गरिरहेका छौँ । हामीले यसअघि नोभेम्बर १२ देखि नोभेम्बर २३ सम्म पिपिएल आयोजना गर्ने निर्णय गरेका थियौँ । तर साग खेलकुद, यु–१९ भ्रमण, एमसिसिको नेपाल भ्रमण जस्ता कार्यक्रमले अलिक पछाडि धकेलिएको छ ।

हामीले अब डिसेम्बर १४ देखि २८ सम्म गर्ने भनेर मिति तोकेका छौँ । हाम्रो तयारी चलिरहेको छ । हामीले पहिलो संस्करणको पिपिएल पनि निकै भव्य तरिकाले सम्पन्न ग¥यौँ । पिपिएलले पर्यटकीय स्थल पोखरालाई क्रिकेट हब बनाएको छ ।

यसमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको संलग्नता हुने भएकाले ‘भिजिट नेपाल २०२०’ लाई पनि फाइदा पुग्ने भएकाले हामी भव्य तयारीमा जुटेका छौँ ।

पहिलो पिपिएल आयोजना पछि कस्तो प्रतिक्रिया पाउनु भयो ? पहिलो पिपिएल भन्दा दोस्रो पिपिएल कुनकुन आधारमा फरक हुनेछ ?

हामीले पोखरामा पिपिएल आयोजना गर्नु पनि नयाँ सुुरुवात रहेको थियो । यसले पोखरामा पनि क्रिकेटलाई नयाँ सुरुवात दिलाएको थियो । पिपिएल आयोजना पछि पोखरामा क्रिकेटको क्रेज बढेको थियो । यसले गर्दा पिपिएल भव्य रुपमा सम्पन्न भएको मूल्यांकन गरेका छौँ ।

यो सम्पन्न हुनुमा मिडिया, आम जनता र समर्थकहरुको साथ अमूल्य रहेको थियो । लगानीकर्ता र कर्पोरेटहरुको पनि निकै ठुलो साथ रह्यो । अबको दोस्रो संस्करणको पिपिएललाई भव्य बनाउने च्यालेन्ज हामी सामु रहेको छ । भव्य बनाउनलाई हामीले नयाँ कन्सेप्टहरु सोचेका छौँ ।

हामीले ती कन्सेप्टहरु केही दिनमै खुलाउने सोच बनाएका छौँ । हामीले अहिले दर्शकको उपस्थिति बढाउने, पिच र ग्राउन्डलाई अझ बढी व्यवस्थित गराउने, खेलाडीलाई अझ बढी सुविधा दिने जस्ता कुरामा हाम्रो ध्यान रहन्छ ।

प्रतियोगिताको नाम पोखरासँग जोडिएको छ । यद्यपी पहिलो संस्करणमा सुरुवातदेखि कै कार्यक्रम राजधानीमा नै गरियो । यस बारे पोख्रेली समर्थकको गुनासो पनि थियो । यो विषयमा के भन्नुहुन्छ ?

त्यस्तो होइन । हामीले पिपिएलको अक्शन र ड्राफ्ट काठमाडौँमा गर्नुपर्ने दवाव थियो । टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गर्नुपर्ने भएकाले मात्र हामीले काठमाडौँमा गरेका हौँ । हामीले पोखरामै पनि पिपिएलको ५ वटा कार्यक्रम गरेका थियौँ ।

ट्रफी अनावरण फेवातालमा गरेका थियौँ, फाइनलको ट्रफी अनावरण हामीले सराङ्कोटमा गरेका थियौँ । हामीले त्यहाँका सामाजिक विकास मन्त्रीसमेत सहभागी भएर कार्यक्रम गरेका थियौँ । प्रेस विज्ञप्ति मात्र काठमाडौँबाट गरेका हौँ । पिपिएल पोखराकै साझा सम्पति हो । हामीले पोखरालाई नै केन्द्र बनाएका हौँ ।

पिपिएलले पोखरा र आसपासका खेलाडीलाई पनि एक्सपोजर दिएको छ । साथै पिपिएलले संसारभर पोखरा र नेपाली क्रिकेट चिनाएको छ ।  क्रिकेटलाई पनि काठमाडौँ बाहिर विकेन्द्रिकरण गर्नु पर्छ भनेर पोखरालाई क्रिकेट हब बनाउन लागेका छौँ । पोखरालाई क्रिकेट सहितको पर्यटकीय स्थल बनाउन लागेका छौँ ।

प्रथम संस्करणको पिपिएलको उपलब्धि के मान्नुहुन्छ ?

पहिलो उपलब्धि भनेको पोखरा क्रिकेटको एउटा भेन्यू बनेको छ । पिपिएलको आयोजना पछि पोखरा क्रिकेट रंगशाला चिनिएको छ र त्यसैको फलस्वरुप आउँदो दक्षिण एसियाली खेलकुदको महिला क्रिकेट पोखरामा हुन गइरहेको छ ।

दयानीय अवस्थामा रहेको पोखरा क्रिकेट रंगशाला अहिले पिपिएलकै आयोजना पछि अन्तराष्ट्रिय स्तरको खेल हुने अवस्थामा पुगेको छ ।

अब पनि सरकारले लगानी गर्दिने हो भने त्यहाँ अन्तराष्ट्रिय खेल आयोजना गर्न सकिन्छ । क्रिकेटमा पिचको अवस्था निकै महत्वपूर्ण मानिन्छ, पोखराको पिच त्रि.वि क्रिकेट मैदानको पिच भन्दा धेरै राम्रो छ । पहिलो पिपिएलको आयोजना पछि पोखरा पनि क्रिकेटको हब बनेको छ साथै त्रि.वि क्रिकेट मैदानको विकल्प बनेको छ ।

घरेलु क्रिकेट लिगहरुले राष्ट्रिय टोलीमा पर्ने प्रभाव केके देख्नुभएको छ ?

एकदमै प्रभाव पर्छ । अघि मैले डब्लुसिएलकै पनि कुरा गरौँ । डब्लुसिएलमा सहभागी खेलाडी मध्य बाट अहिले चाइना जाने टोली बनेको छ । डब्लुसिएल आयोजना गरेपछि ९ जना खेलाडी डब्लुसिएल बाटै परेका छन् । यदि हामीले डब्लुसिएल नगरेको भए ती प्रतिभा देख्ने थिएनौं र उनीहरु पनि छनौट हुन गाह्रो हुन्थ्यो ।

त्यसैले घरेलु क्रिकेटले निकै राम्रो एक्सपोजर दिने गर्छ । पिपिएल गरिसकेपछि पनि पिपिएलबाट निकै राम्रा खेलाडी अगाडि आएका छन् । ती प्रतिभालाई राष्ट्रिय टीममा पर्ने बाटो मिलेको छ । यस्ता लिगले छनौट प्रक्रियाको पनि काम गर्छन् । घरेलु क्रिकेट बढी भएपछि राम्रा खेलाडीलाई मौका मिल्छ र बलियो राष्ट्रिय टोली बन्न पुग्छ ।

घरेलु क्रिकेट बलियो बनाउन के गर्नुपर्छ जस्तो लाग्छ ?

अहिले हाम्रो देशमा घरेलु क्रिकेट अन्तर्गत टी–ट्वान्टी फम्र्याटमा बढी खेल भइरहेका छन् । एकदिवशिय मान्यतालाई जोगाइ रहने हो भने एकदिवशीय फम्र्याटमा बढी खेल हुनु आवश्यक रहेको छ । लामो फम्र्याटका खेललाई प्राथमिकता दिनुपर्छ ।

सबै प्रदेशमा क्रिकेट ग्राउन्ड बनाउने, सबै जिल्लामा एकेडेमी बनाउने, क्रिकेट सङ्घले नीति बनाउने जस्ता काम हुनु पर्छ । घरेलु क्रिकेटलाई बढाउनु पर्छ । अहिले हाम्रो ‘ए’ टीम समेत छैन । अब मजबुत सिनिएर टीम, ‘ए’ टीम बनाउनका लागि धेरै घरेलु लिग हुनु आवश्यक छ ।

अन्तराष्ट्रिय स्तरमा हेर्ने हो भने सिनिएर टीम बाहिर गएको बेला ‘ए’ टीमले क्याम्पिङ मार्फत कोचिङ गरिरहेका हुन्छन् । हामीले पनि अब त्यो कल्चरलाई फलो गर्नुपर्छ । यसका लागि राष्ट्रिय खेलकुद परिषद्, क्रिकेट सङ्घ एवं सरोकारवाला सबैको सहयोगमा घरेलु क्रिकेट अन्तर्गत टी–ट्वान्टी, एकदिवशीय, लामो फम्र्याटका उमेर समुहको खेल आयोजना हुनु पर्छ ।

अन्त्यमा, नेपाली क्रिकेट विकासका लागि आगामी दिनका योजना के छन ?

हाम्रो योजनानै धेरै भन्दा धेरै क्रिकेट सम्बन्धि इभेन्ट आयोजना गर्नु हो । हामीले अहिले पिपिएल र डब्लुसिएलमात्र नभई क्रिकेट सम्बन्धि अरु इभेन्ट लिएर आउनेछौँ ।

हामीले क्रिकेटका बारेमा धेरै योजना बनाएका छौँ र छिट्टै सार्वजनिक गर्नेछौँ । हामी क्रिकेट विकासका लागि पछि हट्दैनौ ।  पिपिएलले पोखरा क्रिकेट रंगशाला चिनियो । त्यसैको फलस्वरुप आउँदो दक्षिण एसियाली खेलकुदको महिला क्रिकेट पोखरामा हुन गइरहेको छ ।

पिपिएल पछि नै दयनीय अवस्थामा रहेको पोखरा रंगशाला अन्तराष्ट्रिय खेल हुने अवस्थामा पुग्यो अब सरकारी लगानीको आवश्यकता छ ।

कमेन्ट गर्नुहोस्
Share: