
काठमाडौं । सातै प्रदेशका नवनियुक्त प्रमुखहरूको सपथ ग्रहण आज हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा बिहान ९ बजे प्रदेश प्रमुखहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले सोमबार नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरेकी हुन् । गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश १ मा सोमनाथ अधिकारी ’प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्त नियुक्त भएका छन्।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले यी सात जनाको नाम छनोट गरेको थियो। मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले आइतबार सातै प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी थिइन्।
