
काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको तीन दिवसीय (फस्ट क्लास) क्रिकेटको पहिलो इनिङ्समा नेपाल सस्तैमा अलआउट भएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपाल ४४ ओभर ४ बलमा १५३ रन जोड्दा अलआउट भएको छ । योसँगै नेपाल एमसीसीसँग पहिलो इनिङ्समा २ सय ११ रनले पछि परेको छ ।
नेपालका कप्तान ज्ञानेन्द्र मल्ल सुन्य रनमा आउट हुँदा राजु रिजालले ८ रन जोडे । यस्तै शरद भेषवाकर ४ रनमा आउट भए । विनोद भण्डारीले ३६ रन बनाए भने सोमपाल कामीले २६ रनमा आउट भए ।
त्यसपछि आएका सन्दीप लामिछानेले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ३९ रन बनाए । सन्दीपले अन्तिम विकेटको लागि ललित नारायण राजवंशीसँग ४२ रनको साझेदारी गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले १०१ ओभर ५ बलमा अलआउट हुँदै ३ सय ६४ रन बनाएको थियो ।
