टी १० क्रिकेट प्रतियोगिता सुरु, लेकसाइड र सेभेन स्टारको विजयी सुरुवात

864
0
Share:

पोखरा ।  दोस्रो संस्करणको लेकसाइड ओपन टी १० क्रिकेट प्रतियोगिता पोखरामा सुरु भएको छ । फेवा क्रिकेट क्लबको आयोजनामा टी १० लिग पोखरामा शनिबारबाट सुरु भएको हो । टी १० प्रतियोगिता आज एक कार्यक्रमका माझ उद्घाटन गरिएको थियो ।

पोखराको लेकसाइड स्थित क्याम्पिङ ग्राउन्डमा शनिबारदेखि सुरु भएको प्रतियोगितामा लेकसाइड क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ । शनिबार लेकसाइडले मिक्स ११ लाई ९ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

मिक्स ११ले दिएको ४५ रनको झिनो लक्ष्य पक्ष्याएको लेकसाइडले ६ ओभरमा १ विकेट गुमाउँदै खेल जितेको हो । लेकसाइडले सुरुमै आफ्ना ओपनर दोर्जे लामालाई गुमाएको थियो । ससीको दोस्रो ओभरमा लामा व्यक्तिगत ३ रन बनाएर आउट भएका थिए ।

तर लेकसाइडका लागि अर्का ओपनर सरोज चौधरीले सर्वाधिक २१ रन बनाएपछि भने लेकसाइडको जीत सुनिश्चित भएको थियो । उनले १६ बल खेल्दै १ चौका र एक छक्काको मद्दतमा २१ रन बनाएका थिए । साथै रमेश थापा ११ बलमा ९ रन बनाउँदै नट आउट रहेका थिए ।

मिक्सका लागि ससीले १ विकेट लिएका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मिक्स ११ ले पुरा १० ओभर खेल्दै १० विकेटकै क्षतिमा ४४ रनमात्र बनाउन सक्यो । उसका लागि कप्तान सञ्जयले ११ रन बनाउनु बाहेक अरु खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् ।

लेकसाइडका लागि लागि राजु तामाङले सर्वाधिक ३ विकेट लिए भने सन्दीप अधिकारी र गौतम तामाङले समान २ विकेट लिए । यस्तै जनक भण्डारी, समिर लामिछाने, र सरोज चौधरीले समान १(१ विकेट लिए ।

खेलमा लेकसाइडका राजु तामाङ म्यान अफ द म्याच घोषित भएका थिए । उनलाई राष्ट्रिय स्तरका अम्पाएर भोजराज बरालले पुरस्कार प्रदान गरेका थिए ।

यस्तै आजनै भएको अर्को खेलमा सेभेन लेकस्टार क्रिकेट क्लबले गण्डकी मेडीकल कलेजको टोलीलाई ७ रनले पराजित भएको छ । टस हारेर पहिले व्याटिङ गरेको लेकस्टारले पूरा १० ओेभर खेल्दै ४ विकेट गुमाएर ९४ रन बनाएको थियो ।

उसका लागि ओपनर हिमालले विष्फोटक व्याटिङ गर्दै २० बलमा ३६ रन बनाए । उनले ३ चौका र २ छक्काको मद्दतमा ३६ रन बनाएका हुन् । यस्तै अर्का ओपनर सुवास ७ रन बनाएर आउट हुन पुगे । सुवास आउट भएपछि व्याटिङ गर्न आएका नयनले १ छक्का र ३ चौकाको मद्दतले ३१ रन बनाए । यस्तै रमेशले १३ रन बनाए । गण्डकी मेडीकल कलेजका लागि विजयले २ विकेट लिँदा सुशिल, सन्दिप र सुदेशले १÷१ विकेट लिए ।

रोमाञ्चक बनेको खेलको अन्तिम ओभर सम्म खेलेको गण्डकीले केबल ८५ रन बनायो र ९ रनको नतिजा सुम्पिएको हो । उसका लागि विवेकले २६, अजयले २३ रन बनाउँदा सुरजले १० रन बनाए । सेभेन लेकस्टारका लागि नवराजले २ विकेट लिए भने सुवासले १ विकेट लिए । खेलमा अलराउण्ड प्रदर्शन गरेका हिमाल रानाभाट म्यान अफ द म्याच घोषित हुँदै फेवा क्रिकेट क्लबका उपाध्यक्ष रननारायण श्रेष्ठबाट पुरष्कृत भएका थिए ।

यसअघि लेकसाइडको हल्लनचोक स्थित क्याम्पिङ ग्राउन्डमा आज भएको उद्घाटन कार्यक्रममा जिल्ला क्रिकेट सङ्घ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलको उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सिग्देलले टी १० जस्ता प्रतियोगिताले खेलाडीको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै उनले टी १० जस्तो प्रतियोगिता पोखरा क्रिकेट रङ्गशालामा गराउन आफुले साथ दिने बताउँदै प्रतियोगिताको सफलताको कामना समेत गरे । उनले टेनिस बलले खेलिने प्रतियोगिताले मन जितिरहेको र सहभागिता पनि व्यापक बनिरहेको बताए । सिग्देलले टी १० लाई सफलता दिलाउन आफु र आफ्नो सङ्घ हरेक सहयोग र सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रमको सञ्चालन प्रताप आचार्यले गरेका थिए । आचार्यले यस्ता प्रतियोगिताले निरन्तरता पाउनु पर्ने र महिला सम्बन्धि पनि प्रतियोगिता आयोजना गर्नु पर्ने बताए ।

प्रतियोगिताको उद्घाटन समाजसेवी समेत रहेका पूर्व खेलाडी दामोदर बरालको बलिङमा जिल्ला क्रिकेट सङ्घ कास्कीका अध्यक्ष सिग्देलले व्याटिङ गरेपछि गरिएको थियो ।

‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने नाराका साथ आयोजित प्रतियोगितालाई जिल्ला क्रिकेट सङ्घ कास्की र जिल्ला खेलकुद विकास समिति कास्कीले सहयोग गरेको छ । ८ दिनसम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले ७७ हजार ७ सय ७७ रुपैँया र द्धितीय हुनेले ४४ हजार ४ सय ४४ रुपैँया हात पार्ने छन् । साथै विधागत तर्फको पनि पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: