पोखरामा एक हजार जनाको सित्तैमा मधुमेह र टिजी जाँच

Share:

पोखरा । पोखरामा एक हजार ७० जनाको सित्तैमा मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको छ ।

विश्व मधुमेह दिवसको अवसरमा युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोग र क्लस्टर १६, रिजन ३२ र ३३ र जोन ६९, ७०, ७१ र ७२ का १५ लायन्स क्लब र लायन्स पोखरा पिस टाउनको संयुक्त आयोजनामा शनिबार सो शिविर भएको हो ।

कार्यक्रममा वरिष्ठ मुटु रोग विशेषज्ञ डा नवराज पौडेलले विभिन्न रोगबारे प्रकाश पारे । उनले मधुमेह, टिजी, एलडिएल जस्ता जाँच समय समयमा गर्ने, खानपान र जीवनशैलीमा ध्यान दिने हो भने धेरै रोगबाट बाच्न सकिने उल्लेख गरे ।

रोगले थला परिसकेपछि स्वास्थ्य संस्थामा पुग्ने बानी परिवर्तन गर्दै रोग नलाग्दै समय समयमा जाँच गर्ने बानी विकास गर्न सके मानिसको स्वास्थमा ठूलो सुधार हुने बताए । शिविरमा अन्य सबै प्रकारका रक्त परीक्षणमा ५० प्रतिशत छुट दिइएको थियो ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले नेपालीहरु मधुमेह र मुटुरोगबाट पीडित हुने क्रम नाटकीय रुपले बढेकाले यी रोगका परीक्षण सित्तैमा उपलब्ध गराउन शिविरहरु गर्दै आएको बताए ।

युआरएलले सामाजिक उत्तरदायित्व वहन गर्दै स्थापना कालदेखि नै गर्दै आएका शिविरमध्ये यो ७७ औ शिविर हो । यस्ता शिविरबाट ५८ हजारभन्दा बढीले सेवा दिइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: