
पोखरा । पोखराको लेकसाइडमा जारी म्याट्रिक्स एरिना टि १० क्रिकेट प्रतियोगितामा मङ्गलबार दुई खेल सम्पन्न भएको छ । लेकसाइड स्थित क्याम्पिङ ग्राउन्डमा आज भएका खेलमा मियाँपाटन ११ र शुभतारा युवा क्लब विजयी भएका छन्
आज भएको पहिलो खेलमा टस जितेर पहिले व्याटिङ गरेको मियाँपाटनले पुरा १० ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको थियो । उसका लागि बिराट दवाडीले सर्वाधिक २३ रन बनाए । उनले १७ बलमा ४ चौकाको मद्दतमा २३ रन बनाएका हुन् । यस्तै दिवस गिरीले १६ रन बनाउनु बाहेक अरुले दोहोरो अङ्क छुन सकेनन् ।
क्यानाबिसका लागि मनिष मण्डल र अनिष अर्यालले समान २-२ विकेट लिए । यस्तै अमिर देवन र अमृत अधिकारीले समान १-१ विकेट लिन सफल भए ।
७४ रनको मध्यम लक्ष्य पक्ष्याएको क्यानाबिस केबल २९ रनमै समेटिएपछि मियाँपाटनलाई ४३ रनले नतिजा सुम्पिएको हो । उसका लागि नमन राज शाहले १७ रन बनाउनु बाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । क्यानाबिसको इनिङ्स ध्वस्त पार्न अब्दुुल खलिद, इमितियाज आलम, रोनित बताजुले समान २-२ विकेट लिए । यस्तै म्यान अफ द म्याच रेजुद देले १ मेडन ओभर गर्दै २ विकेट लिए । उनलाई म्यान अफ द म्याच अवार्ड फेवा क्रिकेट क्लबका कार्यकारी सदस्य सुशिल भुजेलले प्रदान गरेका थिए ।
यस्तै आज नै भएको दोस्रो खेलमा शुभतारा युवा क्लबले रक ११ स्याङ्जालाई पराजित गरेको छ । क्याम्पिङ ग्राउन्डमै भएको खेलमा शुभताराले स्याङ्जालाई ७ रनले पराजित गरेको हो ।
८२ रनको लक्ष्य पक्ष्याएको स्याङ्जा ७४ रनमा समेटिएको थियो । स्याङ्जाका लागि टिटु यादवले १९ रन बनाए भने हाम्जाले १८ रन बनाए । अरुको प्रदर्शन उल्लेख्य रहन सकेन ।
शुभताराका लागि रामनाथ यादवले ३ विकेट लिएका थिए । उनले आज ह्याट्रिक लिँदै प्रतियोगितामा ह्याट्रिक लिने पहिलो खेलाडी बनेका छन् । यस्तै विजय यादवले २ विकेट लिए भने सुशान्त सिंह, प्रमोद र मिराजले समान १-१ विकेट लिए ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको शुभताराले निर्धारित १० ओभरमा ८१ रन बनाएको थियो । शुभयात्राका लागि आशिशले १८ रन बनाए । यस्तै शुशान्त सिंहले १७ रन बनाए भने रामनाथ यादवले १४ रन बनाए । स्याङजाका लागि टिटु यादवले २ विकेछ लिँदा अनिष शेख, अमरजित, प्रफुल यादव र मक्सुदले समान १(१ विकेट लिए ।
यस खेलमा ह्याट्रिक लिएका रामनाथ यादव म्यान अफ द म्याच घोषित भए । उनले गण्डकी प्रदेशका खेलाडी अमृत गुरुङबाट म्यान अफ द म्याच अवार्ड ग्रहण गरेका थिए ।
