पाकिस्तानी क्रिकेटर अराफात भन्छन्: सौन्दर्यता देखेर अचम्मित भएँ, पोखरा आफ्नै घर जस्तो लाग्यो

Share:

पोखरा । विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब हो, मेरिलिवन क्रिकेट क्लब (एमसीसी) । सोही टोलीले अहिले नेपाल भ्रमणमा छ । एकसाता अघि नेपाल आएको टोलीले कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा ४ खेल खेल्यो । अहिले भने सो टोली पोखरामा नै छ ।

टोली पोखरा–११ र मुख्यमन्त्री–११ सँग मैत्रीपूर्ण खेल खेल्न पोखरा आएको हो । योजनाअनुसार दुवै खेल खेलेको टिम बुधबार स्वदेश फर्कदै छ । मैत्रीपूर्ण खेल खेल्न पोखरा आएको टोलीका महत्वपूर्ण खेलाडी असिर अराफातले सम्मान स्वरुप आफूले पाएको अवार्ड विपक्षी टोलीका खेलाडीलाई प्रदान गरे । पाकिस्तानका पूर्व राष्ट्रिय खेलाडी उनी पोखरा–११ सँगको खेलमा म्यान अफ द म्याच बनेका थिए । उत्कृष्ट खेलाडी घोषित अराफातले उत्कृष्टताको अवार्ड भने आफूले लिएनन् । उनले विपक्षी टिमका खेलाडी दिपेश खत्रीलाई थमाए ।

दिपेशले खेलमा आफ्नो टोलीका लागि अविजित ४५ रन बनाउनुका साथै एक विकेट पनि हात पारेका थिए । उनको त्यही प्रदर्शन देखेर अराफातले आफ्नो पुरस्कार प्रदान गरेको प्रतिक्रिया दिएका छन् । प्रस्तुत छ, अराफातसँग बिगखबरकर्मी अनिष भट्टराईले गरेको कुराकानीको सम्पादित अंश :

क्रिकेट खेल्नका लागि नेपाल आउनुभयो, पहिलोपटक नेपाली भूमिमा खेल्दा कस्ते अनुभूति गर्नुभयो ?

म सुरुवातमा नेपाल क्रिकेट सङ्घलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । हामीले यहाँ आएर क्रिकेट खेल्ने अवसर पायौँ । उहाँहरुले हामीलाई खेल्ने मौका दिनु भएको छ । म लगायत मेरो टिमले यहाँको वातावरण निकै मन पराएका छौँ ।

यो सुन्दर भूमि, हिमालको काखमा बसेर क्रिकेट खेल्दा मन निकै मोहित भयो । हामी नेपालमा हिमालमुनि बसेर खेल्दा निकै खुुसी छौँ । यति मात्र होइन विश्वभर परिचित माउण्ट एभरेष्ट (सगरमाथा) बारे मैले सुनेको मात्र थिएँ । नेपाल आउँदा हिमाल फेदमा पनि पुग्ने अवसर मिल्यो ।

त्यहाँ हामीले स्की पनि ग¥यौँ, निकै रमाइलो लाग्यो । म पहिलोपटक खेल्दा पोखरामा पनि निकै राम्रा प्रतिभा भेटेको छु मलाई लाग्छ कि उनीहरुले अझै बढी मिहिनेत गर्नेछन् ।

क्रिकेटको बारेमा लामो अनुभव तपाईँसँग छ । नेपाली क्रिकेटमा सुधार गर्नुपर्ने पक्ष के–के देख्नुभयो ?

नेपाली क्रिकेट निकै उत्कृष्ट छ । मैले धेरै पटक नेपालले प्रगति गरेका समाचारहरु पनि सुनेको छु । तर म नेपालविरुद्ध पहिलोपटक खेलेको हुँ र पहिलोपटक खेल्दा मैले नेपाली क्रिकेटरहरुमा निकै राम्रा प्रतिभा देखेँ । उनीहरुसँग निकै राम्रो क्षमता र सम्भावना छ ।

उनीहरुसँग प्राकृतिक अथवा आफैँले उब्जाएको क्षमता छ । नेपाली क्रिकेटले भविष्यमा आफूलाई स्थापित गर्नेछ भन्ने मलाई लाग्छ । मलाई नेपाली क्रिकेटरहरुको फिल्डिङ निकै मन प¥यो । उनीहरुको सबैभन्दा ठूलो शक्ति नै फिल्डिङ हो भन्ने मैले महशुस गरेँ । नेपालले अझै मिहिनेत गर्छ र पछि आफुलाई अझ उत्कृष्ट टोलीका रुपमा आफूलाई उभ्याउँछ भन्ने कुरामा म विश्वस्त छु ।

मैले सुनेको थिएँ, नेपालमा जम्मा तीनवटा फ्रेन्चाइज आयोजना हुन्छन् । ती पनि अझ टी–ट्वान्टी र्फम्याटमा हुने रहेछन् । यसले खेलाडीको उच्चतम विकास हुँदैन ।  अब नेपालमा लामा र्फम्याटका घरेलु लिग आयोजना गर्नु पर्छ । नेपाली राष्ट्रिय टिमले पनि धेरै राष्ट्रसँग खेल्नु पर्छ । क्रिकेटको अझै अनुभव बटुल्नका लागि नेपालले विभिन्न देशको पनि भ्रमण गर्नुपर्छ ।

नेपाली क्रिकेटलाई अझै माथि उठाउन के गर्नुपर्ला ?

मैले सबैभन्दा मजबुत फिल्डिङ साइड भएको टिम नै नेपाली टिम ठान्दछु । लामो समयदेखि नेपाली क्रिकेटरहरुले फिल्डिङ र बलिङ गरेको देखेको छु । यो नै उनीहरुको हतियार हो । उनीहरुले यस हतियारलाई अझ मजबुत गराउँदै, ब्याटिङ पनि निकै कसिलो बनाउँदै लैजानु पर्छ ।

यस्तो गर्ने हो भने नेपाली क्रिकेट निकै माथि उठ्नेछ । म बारम्बार नेपाल आएर भविष्यमा नेपाली क्रिकेटर साथीहरुसँग काम गर्न चाहन्छु । मलाई नेपाली वातावरण र यहाँको क्रिकेट मोह निकै मन परेको छ ।

तपाईँले पोखरामा सोमबार भएको पहिलो खेलमा आफूले पाएको म्यान अफ द म्याच अवार्ड विपक्षी टिमका खेलाडीलाई दिनु भएको थियो, त्यो किन ?

मैले जसलाई सो अवार्ड दिएँ, उनको खेल मैले सुरुवातबाट नै हेरिरहेको थिएँ । उनको खेल निकै मनप¥यो । मैले उनलाई उत्प्रेरणाका लागि सो अवार्ड प्रदान गरेको हुँ । यसले उनको मनोबल बढेको आशा गरेको छु । मैले पाकिस्तानका लागि खेलेको छु र बेलायतका उत्कृष्ट काउन्टी क्लबका लागि पनि खेलेको छु ।

यसरी मेरा अगाडि कुनै म भन्दा सानो खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको देख्दा म निकै खुसी हुन्छु । मैले टिमको राम्रो साथ पाएर जितेकाले सो अवार्ड पाएको थिएँ, तर उनले निकै राम्रो खेले । हाम्रो जीतले उनको प्रदर्शन छाँयामा परेको थियो । त्यसैले मैले उनलाई थप उर्जा र जोश प्रदान गरेको हुँ ।

अन्त्यमा, तपाईँ नेपालका केही ठाउँहरु घुम्नु पनि भयो । नेपाली क्रिकेटबाहेक नेपालको बारेमा के भन्नुहुन्छ ?

मैले नेपालको बारेमा केबल काठमाडौँ र एभरेष्टका बारेमा मात्र सुनेको थिएँ । पोखराका बारेमा पहिलोपटक सुनेको हाम्रो नेपाल भ्रमण निश्चित भएपछि मात्रै हो । मलाई पोखरा कस्तो होला भनेर निकै उत्सुकता जागिरहेको थियो । यहाँ आएपछि यहाँको सौन्दर्यता देखेर म निकै अचम्मित भएको छु । मलाई काठमाडौँ भन्दा पोखरा नै मनप¥यो ।

पोखरा निकै राम्रो रहेछ । निकै मनमोहक स्थल । हिमाल त मैले देखेको हुँ किनभने म पाकिस्तानको उत्तरी भेग लाहोरपिण्डीमा जन्मिएको हुँ, तर यसरी हिमालको काखमा बसेर क्रिकेट खेलेको सायद पहिलो अनुभव नै होला । हाम्रोमा पनि विश्वकै दोस्रो अग्लो चुचुरो केटु हिमाल छ ।

पोखरा मलाई आफ्नै घर जस्तो लागिरहेछ । म यहाँ पहिलोपटक आएको भएपनि धेरै पहिले बाटै चिनेको जस्तो लाग्छ । मैदान पनि निकै राम्रो रहेछ र अझै राम्रो हुनेछ भन्ने विश्वास छ । आशा छ, यस मैदानले अझ बढी प्रतिभा जन्माउने छ ।

कमेन्ट गर्नुहोस्
Share: