सदस्य सचिव सिलवाल भन्छन्ः पोखरामा चुनौति देखेको थिएँ, ठेकेदारले १० गते खेल्न हुने मैदान बनाइदिन्छु भन्याछन्

441
0
Share:

काठमाण्डौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव रमेश सिलवालले आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटनसम्म सबै पूर्वाधार तयारी सकिने बताएका छन् ।

गोदावरीमा आयोजित साग सम्बन्धी मिडिया वर्कसपमा सदस्य–सचिव सिलवालले पोखरामा पनि समयभित्रै तयारी सकिनेमा आफू विश्वस्त रहेको बताए । ‘मैले पोखरामा चुनौती देखेको थिएँ,’ सिलवालले भने, तर ‘मंसिर १० गते खेल्न हुने बनाइदिन्छौं भनेर ठेकेदार र क्युरेटरले प्रतिबद्धता गरेका छन्।’

‘दुबो मर्नु समस्या होइन, एक हप्तामा मौलिएर हरियो हुन्छ,’ सदस्य–सचिव सिलवालले भने, ‘उनीहरूले तयार गर्छौं भनेका छौं, हामी विश्वस्त छौं।’

सिलवालले सबै नेपाली एक भएर देशको इज्जत जोगाउनुपर्ने बताए । भारतले लगाएको नाकाबन्दीका विरुद्ध जस्तै सबैलाई एकजुट भएर जुट्न आग्रह गरेका छन्।

‘हामी भारतले लगाएको नाकाबन्दीविरुद्ध जसरी एकजुट भएका थियौं, सागका लागि पनि त्यसरी नै जुटौँ,’ उनले भने, ‘राष्ट्रियताको भावनाबाट ओतप्रोत भएर यो खेललाई भव्य र व्यवस्थित ढङ्गले सम्पन्न गर्न हामी सबै लागौँ।’

सिलवालले आगामी मंसिर १५ गतेदेखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुने सागका लागि भौतिक पूर्वाधारबाहेक अन्य सबै तयारी लगभग सकिएको बताए।

आफू सदस्य–सचिव भएर आए पश्चात प्रतियोगिताको तयारीका लागि अघि सारेका योजना तथा कार्यक्रम र आयोजनाको तयारी समेटिएको प्रेजेन्टेसन प्रस्तुत गरेका सिलवालले साउनको दोस्रो साताबाट सम्पूर्ण खेलको बन्द प्रशिक्षण सुरु गरेको जानकारी पनि गराए।

घरेलु मैदानमा हुने प्रतियोगिताका लागि नेपालले राम्रो तयारी गरेको सदस्य–सचिव सिलवालले जानकारी दिए। ‘बजेटभन्दा बाहिरबाट तीन करोड रुपैयाँको व्यवस्थापन गरेर तयारी गरिरहेका छौ,’ उनले भने।

काठमाडौंमा १९, पोखरामा ९ र जनकपुरमा हुने एक खेलमा नेपालका तर्फबाट ६ सय ४८ खेलाडी सहभागी हुने जानकारी दिए।

हालसम्म महिला ३ सय १६ र पुरुष ३ सय ३२ खेलाडी सहभागी हुने निश्चित भइसकेको बताउँदै यो संख्या ७ सयको हारहारीमा पुग्न सक्ने सम्भावना रहेको बताए।

अहिले १३औं सागका लागि २१ खेलका खेलाडीहरू वैदेशिक प्रशिक्षणमा रहेको र ८ खेलका खेलाडीलाई विदेशी प्रशिक्षणको व्यवस्था गरिएको उनले बताए।

खेलाडीहरूलाई प्रशिक्षणका हिसाबले चार फेजमा तयारी गरिएको सिलवालले बताए। प्रशिक्षणको २९ मेदेखि १६ जुलाईसम्म स्पेशल फेज, पहिलो फेज क्याम्प १७ जुलाईदेखि १ सेप्टेम्बरसम्म, दोस्रो फेज २ सेप्टेम्बरदेखि १७ अक्टोबरसम्म र तेस्रो फेज १८ अक्टोबरदेखि नोभेम्बर ३० गरिने उनले बताए।

‘प्रतियोगिताको तयारीअनुसार मेडल बनेर आइसकेको छ,’ सिलवालले भने, ‘तीन पक्षमा ध्यान बढी केन्द्रित गर्नु आवश्यक ठानेको थिएँ।’

‘भौतिक पूर्वाधार विकासका धेरै कार्य भइसकेका छन्,’ सिलवालले भने, ‘हिटिङ पौडी पोखरी प्रयोग गर्न तयार भइसकेको छ, हिटिङ स्विमिङ पुलमा पौडी खेलिन थालेको छ, रंगशालामा १६ हजारमध्ये ८ हजार सीट लगाइसकिएको छ, मंसिर ५ गते भित्र पूर्ण रूपमा तयार हुन्छ।’

कमेन्ट गर्नुहोस्
Share: