
काठमाडौं । नेपालको औपचारिक सद्भावना भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज स्वदेश फर्किँदैछन् । चारदिने सदभावना भ्रमणका लागि गत मंगलबार नेपाल आएका हमिद शुक्रबार अपराह्न करिब पाँच बजे स्वदेश फर्किन लागेका हुन् ।
राष्ट्रपति हमिद स्वदेश फर्किदा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । उनी बंगलादेशको राजधानी ढाका उड्नुअघि शुक्रबार अपराह्न चार बजे ४० मिनेटदेखि ५ बजेर १० मिनेटसम्म अन्य सबै उडान तथा अवतरण बन्द गरिने त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
स्वदेश फर्किनुअघि राष्ट्रपति हमिदले चन्द्रागिरि हिल्स र पाटन दरबार स्क्वायर अवलोकन गर्नेछन् । गत मंगलबार नेपाल आएलगत्तै भक्तपुर दरबार स्क्वायर भ्रमण गरेका उनले बिहीबार पोखरा भ्रमण गरेका थिए ।
