
पोखरा । साझा पार्टीले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि घरदैलो कार्यक्रमलाई तीव्र बनाएको छ । प्रतिनिधिसभा सदस्य सिटका लागि हुन लागेको उपनिर्वाचनका लागि पार्टीले घरदैलो र कोणसभा गरिरहेको छ ।
पार्टीका तर्फबाट उम्मेदवार रहेकी रजनी के.सी सहितको टोली घरदैलो कार्यक्रममा सक्रिय बनेको हो । शुक्रबार पार्टीले पोखरा-१७ बिरौटामा घरदैलो कार्यक्रम गरेको छ ।
घरदैलो पछि पार्टीले शुक्रबार साँझ बिरौटा चोकमा कोणसभाको आयोजना गरेको थियो ।
कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार के.सीले साझा पार्टी भ्रष्टाचारमुक्त नेपाल बनाउने अभियानमा लागिपरेका र युवाहरुलाई नेतृत्व तहसम्म पुर्याउन प्रयासरत रहेको बताइन् ।
उनले सदनसम्म जनताको आवाज पुर्याउने बताउँदै जनताका समस्या समाधान गर्ने नीतिअनुसार पार्टी अगाडि बढेको जानकारी दिइन् ।
‘देशमा भ्रष्टाचार व्याप्त छ, साझा पार्टी अहिले भ्रष्टाचारमुक्त नेपाल बनाउने अभियानमा छ, उनले भनिन्, ‘अब पनि चुप लागेर बसे यो देश कुन बेला बेचिने हो थाहा छैन ।’
भारतको नयाँ नक्सामा नेपाली भूमि समेटिदा पनि अहिलेसम्म सरकार मुकदर्शक बनेको भन्दै उनले आपत्ति जनाइन् ।
कोणसभालाई सम्बोधन गर्दै पार्टीका कास्की जिल्ला संयोजक अर्जुन प्रसाद खनालले उपनिर्वाचन मार्फत कास्कीलाई वैकल्पिक शक्तिको आन्दोलनको केन्द्र बनाउन सकिने बताए ।
‘आगामी उपनिर्वाचनमा तराजुमा मत दिएर वैकल्पिक शक्तिको केन्द्र बनाउने अवसर कास्कीलाई प्राप्त भएको छ,’ उनले भने, ‘एकपटक साझालाई अवसर दिएर हेर्नुस, भ्रष्टाचार विरुद्ध समाज हामीले नै स्थापना गर्नुछ ।’
कोणसभाको संचालन साझा युवा संघका महासचिव सरोज गौतमले गरेका थिए ।
शनिबार पोखरा-२० भलाममा घरदैलो कार्यक्रम गरिने पार्टीले जनाएको छ ।
७१ हजार मतदाता
उपनिर्वाचनका लागि कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
यो क्षेत्रमा पोखराका विभिन्न ११ ओटा वडा पर्छन । मतदानका लागि यहाँ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले बिगखबरलाई जानकारी दिए ।
गएको निर्वाचनको मत
२०७४ सालको निर्वाचनमा रवीन्द्र अधिकारीले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मत अन्तरले पराजित गरेका थिए ।अधिकारीले २७ हजार २ सय ७ र चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए ।
सो निर्वाचनमा तेस्रो भएको तत्कालीन विवेकशील साझा पार्टीका उम्मेदवार श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत पाएका थिए । उम्मेदवारी दर्ता गराएकाहरुले २५ गते निर्वाचनका लागि चिन्ह पाउने निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
