
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रोपटक डायलासिस हुने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार शनिबार (आज) बिहान प्रधानमन्त्रीको ग्रान्डी इन्टरनेसनल हस्पिटलमा तेस्रोपटक डायलासिस हुन लागेको हो ।
यसअघि पनि दुईपटक डायलासिस गराइसकेका प्रधानमन्त्री ओलीको पुनः तेस्रोपटक डायलासिस हुन लागेको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको नियमित स्वास्थ्य परीक्षण र डायलासिस गर्नुपर्ने भएकाले शनिबार बिहान अस्पताल जान लागेका हुन् । प्रधानमन्त्री ओलीलाई यसअघि भाइटीकाको भोलिपल्ट पनि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो ।
ग्रान्डी अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको चिकित्सकहरूले बताएका छन् ।
