ठूला दलका गतिविधिलाई विप्लव समूहले प्रतिबन्ध लगायो

526
0
Share:

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि सरकार र सत्तामा सामेल पार्टीहरूका गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ। पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सरकारी पार्टीका चुनावी कार्यक्रमहरुमा सहभागी नबन्न विशेष अनुरोध गरेका छन्।

महासचिवको विज्ञप्तिमा भनिएको छ, ‘यो सरकारले गरेको राष्ट्रघात, महँगी, भ्रष्टाचार, बेरोजगारीलाई यस्ता संसदीय चुनावहरूले समाधान गर्न नसक्ने भएकाले श्रमिक तथा उत्पीडित वर्ग, सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई यो चुनाव बहिष्कार गर्न पार्टी अपिल गर्दछ।’

विज्ञप्तिमा भनिएको छ, ‘यो सरकारले हाम्रो पार्टीमाथिको प्रतिबन्ध नहटाएसम्म उपचुनावका कार्यक्रमहरूमा सरकार र सत्तामा सामेल पार्टीहरूका गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ। तसर्थ आमजनतालाई सरकारी पार्टीका चुनावी कार्यक्रमहरूमा सहभागी नबन्न विशेष अनुरोध गर्दछौँ।’

पार्टीले ओली सरकार र सत्तामा सामेल पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको स्पष्ट पारेको छ । महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा केपी ओली सरकारले घोषणा गरेको उपचुनावलाई सशक्त बहिष्कार गर्ने निर्णय गरिएको उल्लेख छ।

कमेन्ट गर्नुहोस्
Share: