
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन जित्ने दाबी गरेको छ । पार्टीका तर्फबाट उम्मेदवार बनेका रोम बहादुर भण्डारीले बिग एफ एमसँगको कुराकानीमा सो दाबी गरेका हुन् ।
उनले जनता नेतृत्वप्रति असन्तुष्ट रहेको बताउँदै अब विकल्पको रुपमा राप्रपालाई विश्वास गर्ने बताए । ‘चुनावमा ह्वीम ल्याउने सबैलाई देखियो, अब देश गाइ चिन्हले बनाउँछ भन्ने जनतालाई लागेको छ,’ उनले भने । शीर्ष नेताहरु आपसमा मिलेर देशलाई खोक्रो बनाइसकेको उनले आरोप लगाए ।
कास्की–२ मा पोखराका विभिन्न ११ ओटा वडा पर्छन । मतदानका लागि यहाँ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए । २०७४ सालको निर्वाचनमा रवीन्द्र अधिकारीले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मत अन्तरले पराजित गरेका थिए ।
अधिकारीले २७ हजार २ सय ७ र चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए । सो निर्वाचनमा तेस्रो भएको तत्कालीन विवेकशील साझा पार्टीका उम्मेदवार श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत पाएका थिए ।
