‘दक्षताको हिसाबमा पुरुष भन्दा महिला डाक्टर कम छैनन्’

Share:

डा. सविता पौडेल फार्माकोलोजी विषयको उप–प्राध्यापकको रुपमा पोखराको गण्डकी मेडिकल कलेजमा कार्यरत छिन् । तीन वर्ष अघिदेखि उक्त कलेजमा अध्यापन गराउँदै आएकी उनी दन्त रोग विशेषज्ञ हुन् । उनी नमस्ते हस्पिटलमा दन्त रोग विभागमा समेत सेवारत छिन् ।

राजनीतिमा पनि चासो राख्ने डा. पौडेलको स्वास्थ्यसम्बद्ध विभिन्न संघसंस्थामा आवद्धता छ । दैनिक सयौँ विद्यार्थीसँग भलाकुसारी गर्छिन् । अहिले स्वास्थ्य क्षेत्रमा लाग्न चाहानेहरु पहिलेको जस्तो नभएको उनी बताउँछिन् । स्वास्थ्य क्षेत्रमा सन्तोषजनक प्रगति हासिल हुन नसकेको उनको तर्क छ ।

तर, नेतृत्व तहसम्म महिलाको पहुँच नपुगे पनि स्वास्थ्य क्षेत्रमा पुरुषभन्दा महिलाको सङ्ख्या धरै रहेको उनको अनुभव छ । प्रस्तुत छ, डा.पौडेलसँग स्वास्थ्य क्षेत्रका समस्या, अवसरलगायत विविध विषयमा केन्द्रित रहेर बिगखबरकर्मी अनुप पौडेलले गरेको कुराकानीको सम्पादित अंश :

स्वास्थ्य क्षेत्रमा वेथिति बढ्न थाल्यो भन्दै आन्दोलन हुने क्रम जारी छ । यही बीचमा स्वास्थ्य क्षेत्रमा लाग्न चाहाने युवा मोह कस्तो देख्नुभएको छ ?

मेरो विचारमा पहिला स्वास्थ्य क्षेत्रमा युवा मोह धेरै नै थियो । पहिला स्वास्थ्य क्षेत्रमा काम गर्ने युवाहरु धेरै हुनुहुन्थ्यो । तर, अहिले स्वास्थ्य क्षेत्रमा देखा परेका र गोविन्द केसीले उजागर गरेका विकृति विसङ्गतिले गर्दा र निजी क्षेत्रबाट अध्ययन गर्दा खर्चिलो हुँदा युवा आकर्षण कम छ ।

त्यसैले पनि अहिले स्वास्थ्य क्षेत्रमा पहिलेको भन्दा मोह घटेको हो जस्तो लाग्छ । अर्को कुरा अहिले विश्व बजारमा अन्य क्षेत्र पनि उत्तिकै महत्त्वपूर्ण छ भन्ने सन्देश प्रवाह भइरहेकाले पनि चिकित्सक नै बन्नु पर्छ भन्ने भावनामा ह्रास आएको छ ।

तपाईसँग स्वास्थ्य क्षेत्रको राम्रो अनुभव पनि छ । यो क्षेत्रका सम्भावना र चुनौती के–के छन् ?

आफ्नो इच्छाले आउनेहरुका लागि यो क्षेत्र राम्रो छ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने हामीले अझै पनि सन्तोषजनक रुपमा काम गर्न सकेका छैनौँ ।

अरु क्षेत्र जस्तै स्वास्थ्य क्षेत्रमा पनि अवसर र चुनौती छन् । समस्या भनेको चिकित्सा अध्ययनको समय निकै लामो हुन्छ । अरु क्षेत्रका लागि भन्दा यसका लागि धेरै अध्ययन गर्नुपर्छं । त्यसैले यसका लागि धैर्यताको पनि आवश्यकता पर्छ ।

अर्को समस्या भनेको ५०÷६० लाख खर्च गरेर पढेपछि हुनुपर्ने तलबमान हो । त्यसबाहेक, काममा समेत अरु क्षेत्रभन्दा धेरै खटिनु पर्छ । साथै अहिले त सुरक्षाको पनि कुरा छ ।

एउटा बिरामीलाई उपचारको क्रममा केही भइहाले आफन्तले कुटपिट र हुलदङ्गा गर्दा चिकित्सकहरुले सुरक्षाको कमी महशुुस गर्छन् । यस्तै समस्या समाधान नहुँदासम्म स्वास्थ्य क्षेत्रमा अपेक्षाकृत सुधार हुन सक्दैन भन्ने मलाई लाग्छ ।

नेपालमा हरेक क्षेत्रमा महिला सहभागिताको कुरा उठ्छ । स्वास्थ्य क्षेत्रमा महिला नेतृत्व र सहभागिता कस्तो पाउनुभएको छ ?

अहिले स्वास्थ्य क्षेत्रमा ४०–४५ प्रतिशत महिला सहभागिता छ । अरु क्षेत्र भन्दा महिला सहभागिता स्वास्थ्य क्षेत्रमा बढी छ भन्दा फरक नपर्ला । सङ्ख्याका हिसाबमा महिला सहभागिता सन्तोषजनक छ । स्वास्थ्य क्षेत्रमा काम गर्दा छोरी सुरक्षित हुन्छन् भन्ने अभिभावकको भावले महिलाहरुले स्वास्थ्य क्षेत्रमा काम गरेको देखिन्छ ।

यसमा अर्को कुरा के छ भने, सहभागिता धेरै भएपनि नेतृत्वमा महिलाको संख्या अझै कम छ । नेतृत्वदायी भूमिकामा महिलाहरु कमै हुनुहुन्छ । स्वास्थ्यसम्बद्ध संस्थामा पछिल्लो समय आबद्ध हुनेहरुको संख्या भने बढिरहेको मैले देखेको छु ।

स्वास्थ्य क्षेत्र सुधारका लागि प्रयास नभएको भने होइन, अब स्वास्थ्यकर्मीको हिसाबले सरकारले गरेका प्रयास बारे के भन्नुहुन्छ ?

धेरै सन्तोषजनक अवस्था त छैन । अझैपनि सरकारी अस्पताल हेर्ने हो भने पूर्वाधार, जनशक्ति छैनन् । साथै सरकारले शिक्षा र स्वास्थ्यलाई संवैधानिक अधिकारका रुपमा प्रत्याभूत गरेपनि सस्तोे मूल्यमा शिक्षा र स्वास्थ्यको सुविधा पाएका छैनौँ ।

घर नजिकै स्वास्थ्यको सुविधा पाउने पर्ने भएपनि काठमाडौँ धाउनु पर्ने अवस्था छ । त्यसैले पूर्वाधार विकास जरुरी छ । विकृति विसङ्गति निराकरणका लागि भएका सहमतिसमेत कार्यान्वयन हुन सकेका छैनन् । संविधानले भनेझैँ सर्वसुलभ स्वास्थ्यका लागि सरकारले पहल गर्नुपर्छ । अनि स्वास्थ्य क्षेत्रमा सुधार हुन्छ ।

पुरुष र महिला स्वास्थ्यकर्मीलाई गरिने व्यवहारमा के-कस्ता फरक पाउनुभएको छ ?

नेपाली समाजमा चेलीलाई स्वास्थ्य क्षेत्रमा लगायो भने सुरक्षित हुन्छन् भन्ने सोच छ । परिवार भएका कारण घरबाट टाढा गएर महिलाले काम गर्न पाएका हुँदैनन् ।

एउटै अस्पतालमा महिला र पुरुष डाक्टर भए भने पुरुष डाक्टर नै राम्रो भन्ने मानसिकता छ । विश्वास पुरुषप्रति छ । यसले महिला स्वास्थ्यकर्मीको आत्मबलमा प्रभाव पर्छ ।

दक्षताको हिसाबमा महिला चिकित्सक पुरुष भन्दा कम हुँदैन । महिला चिकित्सक दक्ष हुँदैनन् भन्ने अफवाह छ र यसको अन्त्य गर्न मैले आवश्यक देखेको छु ।

हरेक क्षेत्रमा राजनीति हावी भयो भन्ने सुनिन्छ, स्वास्थ्य क्षेत्रमा राजनीतिको प्रभाव कस्तो छ ?

नेपालमा हरेक क्षेत्रमा राजनीतिको प्रभाव छ । स्वास्थ्य क्षेत्रमा समेत सही मानिस सही ठाउँमा पुग्न सकेका छैनन् ।

राजनीतिक पार्टीको टीका लगाएर आउनेले उच्च स्थानमा पुगेको हुन्छ, जबकी इमान्दार र क्षमतावान मानिसले भन्दा राम्रो काम उसले गर्न सक्दैन ।

विभिन्न स्वास्थ्यका प्रतिष्ठानमा समेत राजनीतिक भागभण्डा निकै बढी छ ।

अन्त्यमा, स्वास्थ्य क्षेत्रमा लाग्छु भन्नेलाई के सुझाव दिनुहुन्छ ?

अब यस क्षेत्रमा लाग्छु भन्नेहरुलाई स्वागत छ । समस्या छन् अनि अवसर पनि । हाम्रो जिम्मेवारी के रहन्छ भने हामीले यस क्षेत्रलाई जिम्मेवार बनाउने, कसरी युवा आकर्षण बढाउन सकिन्छ त्यसका लागि हामी लाग्नुपर्छ ।

युवाको आगमन बढाउनु पर्छ किनभने भोलिका दिनमा युवाले नै स्वास्थ्य क्षेत्र सम्हाल्नु पर्छ । यसैका लाग हामी हातेमालो गरेर काम गर्नुपर्छ । स्वास्थ्य क्षेत्रमा लाग्छु भन्नेलाई म कहिल्यै नलाग्नु भन्दिन ।

कमेन्ट गर्नुहोस्
Share: