बोल्दा प्रतिबन्धमा परेँ, क्यानको प्यारो भइनँ : क्रिकेटर दिपेश खत्री

Share:

पोखरा।  घरेलु क्रिकेट र उमेर समूहमा आफूलाई स्थापित गराएको नाम हो, दिपेश खत्री । दिपेशले घरेलु क्रिकेटमा निरन्तर आफ्नो प्रभाव जमाइरहेका छन् । हालै सम्पन्न एमसीसीको नेपाल भ्रमणका क्रममा पोखराका स्थानीय क्लबमा रहेका दिपेशले पहिलो खेल खेल्दै आफ्नो छाप छाडेका थिए । दोस्रो खेलमा भने उनले जुनियरलाई खेल्ने मौका दिँदै आफू टिमबाट हटे ।

निरन्तर उत्कृष्ट खेल प्रदर्शन गरेपनि दिपेशले आफ्नो राष्ट्रका लागि खेल्ने मौका पाएका छैनन् । राष्ट्रिय टिममा समावेश भने नभएका होइनन् । उनी दुई पटक राष्ट्रिय टोलीमा समावेश भएका थिए । उनलाई एक पटक आफ्नै भाग्यले ठग्यो भने एक पटक त्यतिबेलाको क्रिकेट सङ्घमा व्याप्त राजनीतिले । दिपेश क्रिकेटमा व्याप्त समस्याको बारेमा खुलेर बोल्ने गर्छन् ।

उनी कसैसँग पनि नडराई क्रिकेटका समस्या र अनियमिताका बारेमा मुख खोल्छन् । यसरी निडर भएर बोल्दा दिपेश प्रतिबन्धमा समेत परेका थिए । कास्की जिल्ला क्रिकेट सङ्घले एकपटक त तीन वर्षका लागि प्रतिबन्धको घोषणा नै ग¥यो । तर, दिपेश निरन्तर क्रिकेटको विकासमा क्रियाशील भएपछि दबाबकै कारण कास्की क्रिकेट सङ्घ नौ महिनामा नै प्रतिबन्ध फुकुवा गर्न बाध्य बन्यो । क्रिकेट क्षेत्रको उन्नयनका लागि दिपेश अझै खुलेर बोल्न सक्छन् ।

दिपेश अहिले खेलाडीका रुपमा गुमनाम छन् । यसो हुनुको कारण क्रिकेटमा व्याप्त राजनीति नै हो । कुनै समयमा क्रिकेटमै आफ्नो भविष्य देखेका, राष्ट्रिय टोलीमा दुई पटक छनौट समेत भएका दिपेशको खेल जिवन र क्रिकेट प्रतिको सोच नै अहिले परिवर्तन भएको छ ।

उनको क्रिकेट यात्रा

हरेक बाबुआमाको सपना छोराछोरी धेरै पढुन् भन्ने नै हुन्छ । भर्खर खुट्टा लागेको बेलामै खेल्न हौस्याउने त कमै हुन्छन् । तर, दिपेशको परिवार अपवाद बन्यो । पाँच वर्षको उमेरमै उनलाई बुबाले बल र ब्याट थमाइदिए । क्रिकेट के हो ? बुझ्थेनन् तर खेल्ने कुरा हातमा प¥यो, पहिलो खुशी थियो ।

दिपेशका बुबा झलक खत्री भारतको एक प्राइभेट कम्पनीमा काम गर्थे । दिपेश मुम्बईमै जन्मिए । भाइ दिनेशको जन्म दुई वर्ष पछि भयो । कलिला हातहरुले ब्याट समाउन सक्ने हुनासाथ दाजुभाइलाई नै बुबाले बल र ब्याट थमाइदिए । क्रिकेट प्रेमी बुबाको साथले दिपेशले क्रिकेट बुझ्दै गए । बुबा स्वयंनै आफ्ना दुई छोरासँग क्रिकेट खेल्थे । बुबा बलिङ गर्थे, दाजुभाई पालैसँग ब्याटिङ गर्थे । बुबासँगको दिनहुँको अभ्यास ट्रेनिङ सेन्टर भर्ना भएर प्रशिक्षण लिएको भन्दा प्रभावकारी बन्यो । दाजु भाइ नै क्रिकेटमा जम्दै गए । उनीहरुको चर्चा चुलिँदै गयो ।

दिपेशले एसएलसीसम्म उतै पढे । पढाई र खेललाई सँगै अघि बढाए । त्यसपछि सन् २००० मा पोखरास्थित मामाघर आए । जन्डिसले थलिएपछि यहाँ आएका दिपेश निको भए । अब यतै बस्ने योजना बनेपछि पोखरा क्रिकेट क्लबमा आवद्ध भए । उनी पोखरा क्रिकेट क्लबबाट खेल्दै नेपाली उमेर समुहबाट पनि खेले । दिपेशले आफ्नो प्रारम्भिक खेल जीवनमा बलरका रुपमा खेल्थे, तापनि उनी व्याटिङ पनि निकै उत्कृष्ट गर्दथे । नेपालमै यु–१९ प्रतियोगितामा पहिलो शतक बनाउने खेलाडीको रेकर्ड बनाएका दिपेशको यो रेकर्ड शरद भेषवाकरले पछि तोडे ।

राजनीतिले थला पारेको करिअर

दिपेशले घरेलु क्रिकेटमा आफूलाई प्रमाणित गरिसकेपछि पनि राष्ट्रिय टोलीमा भने बारम्बार परिरहन सकेनन् । निकै उत्कृष्ट लयमा भएको बेलामा समेत न्युजिल्याण्ड भ्रमणमा नछानिएकोमा उनको गुनासो छ । आफुलाई क्रिकेट सङ्घले नातावादको शिकार बनाएको दिपेशको ठहर छ । उनी बारम्बार सिनिएर र जुनिएर टिमको क्याम्पमा पर्दथे, तर अन्तिममा टिममा अट्दैनथे । दिपेश दुई पटक सिनिएर टोलीमा परे । एकपटक उनी निकै उत्कृष्ट फर्ममा थिए, र उनी पहिलो रोजाइका बलर थिए । तर, त्यति बेला स्वास्थ्यले साथ दिएन, जन्डिस भइदियो ।

त्यसपछिको समय आफ्नो पक्षमा रहेन । राष्ट्रिय टिममा उत्कृष्ट बलरका रुपमा पुनरागमन गर्न तीन वर्ष लाग्यो । तर, उनलाई त्यति बेला निकै अन्याय भयो । छनौट चरणमा उत्कृष्ट बलरका रुपमा छानिएका दिपेशले २००७ मा कुवेतमा भएको एसिसि टि–२० कप प्रतियोगितामा एउटा खेल समेत खेल्न पाएनन् ।

बेलायत पलायन

आफ्नो उत्कृष्ट लयमा रहँदा रहँदै पनि राष्ट्रिय टिममा नपर्नु जति दुखदायि अरु के हुन सक्छ एउटा खेलाडीको जीवनमा ? अझ क्रिकेटमै आफ्नो छोराको भविष्य देखेका दिपेशका बुबा आमा पनि चिन्तित बने । दिपेशका बुबा आमाले दिपेशलाई पढाइ पुरा गर्न र विदेश पठाउन चाहे । भाग्यले दिपेशलाई साथ दियो र उनी बेलायतमा क्रिकेट खेल्नकै लागि जाने मौका पाए ।

उनी त्यहाँ साढे दुई वर्ष क्रिकेट खेल्दै काम गर्ने मौका पाए । बेलायत गएर प्रतिष्ठित काउन्टी क्रिकेट भन्दा एक स्तर मुनिको प्रिमिएर लिग क्रिकेट खेल्न थाले । प्रिमिएर लिग पछि उनी नयाँ क्लबमा आवद्ध भए। उनी खेलेको टोलीले उनलाई दुई खेल पछि नै कप्तान र प्रशिक्षकको जिम्मेवारी दियो । उनको कप्तानी र प्रशिक्षणमा रहेको टोलीले निकै उत्कृष्ट पुनरागमन ग¥यो ।

नेपाल फिर्ता र तुहिएको व्यवसायिक प्रशिक्षक बन्ने सपना

उनी साढे दुई वर्षको बेलायत बसाईंपछि फेरि नेपाल फर्किए । मनमा एउटै कुरा थियो, अब पोखरा जान्छु, फेरि राम्रो खेल्छु र राष्ट्रिय टीममा स्थान बनाउछु । तर सोचेजस्तो भएन । वातावरण नै फेरिएछ, आफू खेल्ने एउटा पनि प्रतियोगिता पाएनन् । यस्तो अवस्था बन्यो कि उनले आफुलाई खेल्नका लागि पनि प्रतियोगिता आयोजना तर्फ जुट्न थाले । यसका लागि आर्थिक समस्याले पिरोल्न थाल्यो । तर हार मानेनन्, दिपेश आफै जुनियर लिग आयोजना तर्फ पनि लागे । फेरि पोखरा क्रिकेट क्लबमै आवद्ध भए । उनी खेल्दै जाँदा नयाँ टिम बनाउनु पर्छ भनेर माछापुच्छ«े क्रिकेट क्लब खोले ।

बेलायत हुँदा नै प्रशिक्षको जिम्मेवारी सम्हालिसकेका दिपेशले माछापुच्छ्रे क्रिकेट क्बलमा आफै प्रशिक्षण दिन थाले । प्रशिक्षकको तालिम समेत लिए । उनले पहिलो चरण कटाए पनि । तर दोस्रो चरणमा फेरी एकपटक उनी माथि बज्रपात भयो । दोस्रो चरणको प्रशिक्षकको परीक्षा दिएका उनलाई ‘उत्कृष्ट ग¥यौ’ भनेर तारिफ गरियो । तर कुन स्तरको उत्कृष्टता भन्ने कुरा आजसम्म दिपेशले बुझ्ने मौका पाएका छैनन् । नौ वर्ष अघि दिएको उक्त परीक्षाको आजसम्म नतिजा उनले पाएका छैनन् । दिपेशकै माछापुच्छ्रे क्रिकेट क्लबमा आबद्ध रहँदै गर्दा करण केसीले राष्ट्रिय टोलीमा पुग्ने अवसर पाए ।

मेरीलिवन क्रिकेट क्लबसँगको अनौठो किस्सा

दिपेशले बेलायतमा हुँदा मेरीलिवन क्रिकेट क्लब एमसीसीसँग पहिलो पटक खेल्ने मौका पाएका थिए । उनले पहिलो पटक एमसीसीसँग खेल्दा ६ नम्बरमा ब्याटिङ गर्न पाए । उनले त्यसबेला समेत उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ८८ रन बनाएका थिए । उनको खेल देखेर एमसीसीको बोर्डले उनलाई एमसीसीबाट खेल्ने मौका दिएको थियो । तर टिमले नै त्यतिबेला मौका दिएकाले आफ्नो टोली छाडेनन् ।

पछि २०१५ मा एमसीसी नेपाल भ्रमणमा आएका बेला उनले पोखरा आमन्त्रण एघारको कप्तानी गर्ने मौका पाएका थिए । त्यसपटक पनि उनले एमसीसीसँग निकै राम्रो प्रदर्शन गरेका थिए । उनले आक्रामक खेल खेल्दै ९ बलमा २५ रन बनाएका थिए ।

यस्तै, गत महिना कात्तिकमा पोखरामा भएको एमसीसीसँगको खेलमा दिपेशले निकै सम्मानजनक प्रदर्शन गरेका थिए । उनल नटआउट ४५ रन बनाए । उनको सो प्रदर्शन देखेर पाकिस्तानका पूर्व खेलाडी यासिर अराफातले आफुले पाएको म्यान अफ द म्याच अवार्ड पनि हस्तानान्तरण गरे । यसर्थ उनी एमसीसीसँग खेल्ने हरेक खेलमा निकै उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन् ।

क्रिकेट विकासका लागि सुझावः

अहिलेका बालबच्चाका हातमा फोन देखिन्छ तर खेलसामाग्री देख्न गाह्रो पर्छ । दिपेशले सबै अभिभावकलाई आफ्ना बालबच्चालाई खेलकुदमा प्रोत्साहन गर्न आग्रह गर्छन् । उनको विचारमा साना बालबच्चालाई खेलकुदमा लाग्न दिनुपर्छ । साथै, सरकारले पनि खेल्ने वातावरण तयार पार्न नसकेको दिपेश गुनासो गर्छन् ।

उनले क्रिकेट विकासका लागि राम्रा खेलमैदानको निर्माण गरी खेलकुदको उच्च ओहोदामा रहेकाले नातावाद भन्दा पनि राम्रालाई मौका दिनु पर्ने बताउँछन् । क्रिकेट र पर्यटनलाई जोड्न सके राज्यलाई दोहोरो फाइदा पुग्ने दिपेशको विश्वास छ । उनले क्रिकेटमा लागिरहेका जुनियर खेलाडीले पनि सिनियरलाई टोलीबाट विस्थापित गराउन सक्ने क्षमता बोक्नु पर्ने बताउँछन् ।

(बिगखबरकर्मी अनिष भट्टराईले खत्रीसँग गरेको कुराकानीमा आधारित)

कमेन्ट गर्नुहोस्
Share: