प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, भेन्टिलेरबाट हटाइयो

Share:

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ । मंगलबार अस्पताल भर्ना भएका प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

प्रधानमन्त्री ओलीलाई पूर्णरुपमा बेहोस बनाएर शल्यक्रिया गरिएको हो । अपरेसनपछि अस्पतालको सघन कक्षमा चिकित्सकको निगरानीमा रहेका ओलीलाई बुधबार बिहान भेन्टिलेटरबाट हटाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको बताउँदै एनेस्थेसिया दिदाँदेखि राखिएको भेन्टिलेटर हटाइएको जानकारी दिए ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो ।

पेट दुखेपछि मंगलबार बिहान त्रिवि अस्पताल लगिएकोमा उनलाई एपेन्डिसाइटिस भएको थाहा भएको थियो । प्रधानमन्त्री ओलीले १२ वर्षअघि प्रत्यारोपण गराएको मिर्गौलामा समस्या देखिएको छ ।

शरीरमा बढेको एन्टिबडी कम गर्न केही महिनाअघि सिंगापुरमा उनको प्लाज्मा फेरेसिस् गरिएको थियो । पछिल्लोपटक भने राजधानीको ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरिँदै आएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा चारपटक मिर्गौलाको डायलासिस गराएका थिए। मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, १४, ३० र मंसिर ८ गते गरी चारपटक डायलासिस गरिसकिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: