पिउने पानीको व्यापारमा बिचौलिया हावी : उद्योगी र उपभोक्ता दुवै मारमा

Share:

पोखरा । गएको जेठ २ गते नेपाल बोतल वाटर उद्योग संघ गण्डकी प्रदेशको भेलाले पानीको मूल्य घटाउने निर्णय ग¥यो । भेलामा सहभागि उद्योगीले एक जार पानीको बिक्री मूल्य ६० रुपैयाँ र बोतलको २० रुपैयाँ बनाउने सहमति गरेका थिए । तर, सो निर्णय हालसम्म पनि लागू हुन सकेको छैन् ।

अहिले उपभोक्ता एक जार पानीलाई ७० रुपैयाँसम्ममा किन्न बाध्य छन् । बोतलको पानीमा पनि अवस्था त्यस्तै छ । एक लिटरको बोतललाई २० रुपैयाँ मूल्य तोकिए पनि उपभोक्ताले ४० रुपैयाँसम्म तिर्ने गरेका छन् । एक बोतल पानी उत्पादन गर्दा उद्योगीको लागत ११ रुपैयाँ ९७ पैसा पर्छ । तर, उपभोक्तासम्म पुग्दा त्यसको मूल्य तीन गुणासम्म पर्ने गरेको छ ।

उद्योगीले बोतलको पानीलाई प्रति कार्टुन रु एक सय ३० देखि रु एक सय ५० सम्ममा दिने गरेका छन् । एक कार्टुनमा १२ बोतल हुन्छ । उद्योगीले धरैमा प्रति बोतल साढे १२ रुपैयाँमा त्यसलाई बिक्री गर्छन् । जारको पानीको उत्पादन खर्च २० देखि २५ रुपैयाँसम्म पर्छ । उद्योगीले धेरैमा ३५ रुपैयाँसम्म बिक्री गर्छन । त्यही पानी उपभोक्ता कहाँ पुग्दा ७० रुपैयाँसम्म पर्छ ।

न्यून नाफा राखेर उद्योगीले बिक्री गरेको पानी उपभोक्तासम्म पुग्दा झण्डै तेब्बर मूल्य पर्छ । पानीको मूल्य बढ्नुको कारण हुन्, बिचौलिया । प्रदेश अनुगमन समितिका सदस्यसमेत रहेका उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइराला उद्योगीले खुद्रा व्यापारीसँग सिधा सम्पर्क बनाउन नसक्नु पानीको मूल्य बढ्नुको मुख्य कारण भएको बताउँछन् ।

‘हामीले उपभोक्ताको गुनासो धरै आए पछि पानी उद्योगमा अनुगमन ग¥यौँ, सबै कुरा बुझ्दा उद्योगी र खुद्रा व्यापारी बीचको दुरी मूल्य बढ्नुको मुख्य कारण रहिछ,’ उनले भने, ‘दुरीको बीचमा भएका मानिसले गर्दा पानीको मूल्य बढेको पायौँ ।’ उद्योगीले खुद्रा व्यापारीसँग सिधा सम्पर्क स्थापना गर्न सके मूल्यको विवाद हट्न सक्ने अध्यक्ष कोइरालाले बताए ।

कालोबजारी तथा केही सामाजिक अपराध ऐन २०३२ अनुसार कुनै पनि उत्पादनमा २० प्रतिशतभन्दा बढी नाफा लिन पाईदैन । तर, यहाँ बिचौलिया मालामाल हुँदासमेत अझै कारबाहीको दायरामा ल्याउन सकिएको छैन् ।

मङ्सिर २० गतेबाट नयाँ मूल्य

पूरानो मूल्य लागू हुन नसक्दा गण्डकी प्रदेशमा आउँदो मङ्सिर २० गतेबाट नयाँ मूल्य लागू हुने भएको छ । नेपाल बोत्तल वाटर उद्योग संघको प्रदेश कमिटि र उपभोक्ता वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बीच पिउने पानीको मूल्य घटाउने सहमति भएको हो ।

पानीको मूल्यको विषयमा आवाज उठे पछि निर्देशनालयले उद्योगीसँग मूल्य समायोजनका लागि छलफल गरेको थियो । नयाँ मूल्य अनुसार बोतलको पानीमा रु ९ र जारको पानीमा रु १० घटाइएको नेपाल बोतल वाटर उद्योग संघ गण्डकीका प्रथम उपाध्यक्ष लेख बहादुर प्रधानले जानकारी दिए । अहिले बोत्तलको पानीको मूल्य रु २५ र जारको पानीको मूल्य ६० रहेको छ ।

अब नयाँ मूल्य अनुसार बोत्तलको पानी रु १६ मा पाइने छ भने जारको रु ५० पर्नेछ । व्यवसायीले बजारमा वितरण गर्ने प्रशोधित पानीमा खुद्रा व्यापारीले मनपरी मूल्य निर्धारण गर्दा उपभोक्तालाई प्रत्यक्ष असर पारेको भन्दै आलोचना भइरहेको थियो ।

यो मूल्य कार्यान्वयनमा आए पानीमा भएको कालोबजारी हट्ने छ । तर, यसमा कति उद्योगी सहमत भने भएका छैनन् ।

उद्योगीको आफ्नै समस्या

गण्डकी प्रदेशभर हाल ४५ भन्दा बढी पानी उद्योग छन् । त्यसमध्ये कास्की जिल्लामा मात्र ३४ वटा उद्योग संचालनमा छन् । ३४ उद्योगमध्ये बोतल वाटर उद्योग संघमा ३० उद्योगपति सामेल छन् ।

बाहिर मूल्यको विषय चर्चामा आए पनि उद्योगीहरुको भने आ–आफ्नै समस्या छ । अब बाँकी रहेका चार उद्योगले आफू खुसि मूल्य तोक्दा आफूहरुलाई समस्या पर्ने बोतल वाटर उद्योग संघ गण्डकीका प्रथम उपाध्यक्ष रहेका गोर्खाली प्रशोधित पिउने पानीका संचालक प्रधानको भनाइ छ ।

उद्योगहरुको छुट्टाछुट्टै मूल्य भए मारमा पर्ने भन्दै उनले अनुगमन समितिको ध्यान आकर्षण गराइएको बताए । मूल्यमा एकरुपता नआए उपभोक्तामाझ उत्पादन बारे नकरात्मक सन्देश प्रवाह हुने उनले गुनासो गरेका छन् ।

‘मूल्यमा एकरुपता कायम गराउन नसक्ने हो भने उपभोक्तामाझ उत्पादन बारे नकरात्मक सन्देश जान्छ,’ संचालक प्रधानले भने, ‘एउटा पानीको मूल्य १६ रुपैयाँ र अर्कोको २५ रुपैयाँ भयो भने उपभोक्ताले बढी रकमको गुणस्तर हुन्छ भन्ने बुझ्नु हुन्छ, त्यसले गर्दा हामी मारमा पर्छौँ ।’

संचालक प्रधानले पानीमा भ्याट छुटका लागि पहल गरिदिन प्रदेश अनुगमन समितिलाई आग्रह गरेका छन् । अर्का उद्योगी लेखुराम खातीको पनि उस्तै मत छ । ह्याप्पी प्रशोधित पिउने पानीका संचालक रहेका उनी भन्छन्, ‘नियम नमान्नेलाई कारबाही गनुपर्छ, हामी नियम मान्नेहरु मारमा पर्नु भएन ।’

उद्योगीहरुले पानीको जारको संरक्षण गरेर उपभोक्तालाई सभ्य नागरिकको पहिचान दिन आग्रह गरेका छन् । एकपटक उपभोग गरे पछि त्यसमा अन्य तरल पदार्थ मिसाउनाले आफूहरु निकै मारमा परेको उद्योगीले गुनासो गरेका छन् ।

पानीको जार उद्योगसम्म आइपुग्दा त्यसमा पेट्रोलियम पदार्थ र धाराको पानी मिसाइएको पाइन्छ ।

‘हामीले भरेर पठाउने पिउने पानी प्रशोधित हुन्छ, त्यसमा धाराको पानी मिसाउनु हँदैन, त्यसबाहेक पेट्रोलियम पदार्थ पनि मिसाएको पाइन्छ, ’पानी उद्योगी लेखुराम खाती भन्छन्,‘म उपभोक्तालाई त्यसमा अन्य तरल पदार्थ नमिसाउन अनुरोध गर्छु, त्यस्तो गर्दा हामी घाटा व्यहोर्न बाध्य भएका छौँ ।’

एकरुपता ल्याउछौँ : अनुगमन समिति

मूल्य समायोजन गर्दा बैठकमा सहभागि नै नभएका उद्योगीलाई चुनौती दिँदै प्रदेश अनुगमन समितिले पानीको मूल्यमा एकरुपता ल्याउने स्पष्ट पारेको छ ।

प्रदेश अनुगमन समिति संयोजक एवं उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले पानीको मूल्यमा प्रदेशभर एकरुपता ल्याउने दाबी गरेका छन् ।

उनले भने, ‘मंसिर २० गते पछि पानीको मूल्य प्रदेशका सबै जिल्लामा एउटै हुन्छ, मूल्य लागू गर्न आनाकानी गर्ने उद्योगलाई कारबाही गर्छौँ ।’ संयोजक पौडेलले पानी उद्योगलाई भ्याट छुट दिने गरी उद्योग मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए ।

पानीबाट सुरुआत

गण्डकी प्रदेश सरकारले बजार अनुगमन नियमावली २०७६ पारित गरेर गएको असोज ९ गते राजपत्रमा प्रकाशित गरेको थियो । त्यस यता बजार अनुगमन समिति अहिले अनुगमनमा सक्रिय छ । समितिले मूल्य समायोजन गर्न छलफल गर्ने अधिकार पनि पाएको छ ।

सोहि अनुसार पानी उद्योगीसँग उपभोक्ता हित संरक्षण निर्देशनालयले छलफल थालेको थियो । दुई पटकसम्म छलफल गरेपछि मूल्य समायोजनमा सहमति जुटेको हो । अब अन्य उपभोग्य वस्तुका लागि पहल थालिने समितिले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: