कास्कीमा उपनिर्वाचनको तयारी पूरा, शुक्रबार मध्यरातबाट सवारी सञ्चालनमा रोक

Share:

पोखरा । जिल्ला निर्वाचन कार्यालय, कास्कीले कास्की क्षेत्र नं २ मा शनिबार हुने उपनिर्वाचनको तयारी पूरा भएको जनाएको छ । कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले कास्की-२ का ८२ वटै मतदान केन्द्रमा मतपेटिकालगायत निर्वाचनका सम्पूर्ण सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटिएको जानकारी दिए ।

मतदानका लागि कास्की-२ मा ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको छ । मतदाता नामावलीमा समावेश भएका मतदाताको लागि परिचयपत्र वितरणको काम शुक्रबारसम्म चल्नेछ ।

८२ मतदान अधिकृत तथा ८२ सहायक मतदान अधिकृतसहित ४१० सरकारी कर्मचारी उपनिर्वाचनक लागि मतदान स्थलमा खटिएका छन् । यस्तै ३२८ जना स्वयमंसेवक मतदान क्षेत्रमा खटिने सूचना अधिकारी न्यौपानेले बिगखबरलाई बताए ।

जिल्ला निर्वाचन कार्यालय कास्कीकाअनुसार उपनिर्वाचनका लागि कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । यो क्षेत्रमा पुरुष भन्दा महिला मतदाताको संख्या धेरै छ ।

कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

यो क्षेत्रमा पोखराका विभिन्न ११ ओटा वडा पर्छन । त्यसमा वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ रहेका छन् । उपनिर्वाचनका लागि सबैभन्दा धेरै वडा नम्बर ३३ मा पाँच वटा र कम वडा नम्बर ४ मा एउटा मात्र मतदान स्थल तोकिएको छ ।

कार्यालयको तथ्यांकअनुसार वडा नम्बर १७ को पार्दी मा.विमा सबैभन्दा धेरै ५ हजार २८ मतदाता छन् । यो मतदान स्थलमा अरु मतदान स्थलभन्दा धेरै मतदान केन्द्र तोकिएको छ । धेरै मतदाता भएकाले यहाँ ५ वटा केन्द्र हुने छन् ।

सबैभन्दा कम वडा नम्बर १६ को दिपज्योति आधारभूत विद्यालयमा ७ सय ६ जना मतदाता छन् ।

मध्यरातबाट सवारी सञ्चालनमा रोक

शुक्रबार मध्यरातबाट कास्कीमा अति आवश्यक सवारीसाधन बाहेक अन्य सवारी साधन प्रवेश र सञ्चालनमा रोक लगाइएको छ । शुक्रबार राती १२ बजेदेखि सुरु हुने बन्देज निर्वाचन नसकिदासम्म रहने सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए ।

अति आवश्यक सेवा सवारी (एम्बुलेन्स, शवबाहन, दमकल, खानेपानी, ट्याङ्कर, दूरसञ्चार, विद्युत् र अस्पतालभित्रका सेवा) र चुनाव प्रयोजनका लागि पास लिएका सवारीसाधनलाई भने रोक लगाइएको छैन ।

यस्तै चुनावको समयमा अन्य जिल्लाबाट आउने सवारी प्रवेशमा पनि कडाइ गरिएको छ । कास्की जिल्ला आवतजावत गर्ने सवारीलाई तीन वटा प्रवेश बिन्दुमा रोकेर राखिने सूचनामार्फत जनाएको छ ।

सो सूचनामा उल्लेख भएअनुसार पूर्वमा विजयपुर खोला, पश्चिम–उत्तरमा हेम्जाको याम्दी पुल, दक्षिण–पश्चिममा पोखरा-२२ को कालीमाटी खोलामा रोकेर राखिने छ ।

प्रवेश बिन्दुमा रोकेर राखिएका सवारीलाई प्रत्येक तीन/तीन घण्टाको अन्तरालमा स्किर्टिङ गर्ने व्यवस्था मिलाइएको छ । ती सवारीले बीचमा कुनै सवारी चढाउन र ओराल्न पाउने छैनन् ।

यसका साथै मतदान समाप्त नहुँदासम्मको अवधिमा अपरिचित व्यक्तिको प्रवेश, अस्वभाविक व्यवहार, शङ्कास्पद गतिविधि देखिएमा नजिकैको प्रहरीलाई तत्काल खबर गर्न सूचनामार्फत आग्रह गरिएको छ ।

प्रशासानले मौन अवधि सुरु भईसकेकाले चुनाव प्रचारप्रसारका गतिविधि सञ्चालन नगर्न अनुरोध गरेको छ । मौन अवधिमा दलहरुले सभा सम्मेलन गर्ने, भोट माग्ने जस्ता काम गरे निर्वाचन आचार संहिता उल्लङ्घन गरेको कसुर ठहरिने छ ।

कमेन्ट गर्नुहोस्
Share: